काठमाडौं । चिनियाँ इलेक्ट्रीक स्टार्टअप कम्पनी होजोन मोटर्सको विक्री अघिल्लो वर्षको तुलनामा १४२ ले वृद्धि भएको छ । चिनियाँ ठूला ५ स्टार्टअप इलेक्ट्रीक अटोमोवाइल कम्पनी मध्ये होजोन अटो नोभेम्बर महिनामा सबैभन्दा धेरै विक्री बढाउन सफल कम्पनी बनेको हो ।
होजोन अटोले नोभेम्बरमा १५ हजार ७२ यूनिट गाडी ग्राहकलाई हस्तान्त्रण गरेको हो । नोभेम्बरमा चिनियाँ स्टार्टअप कम्पनीहरु मध्ये दोस्रो स्थानमा रहेको लाईअटोले १५ हजार ३४, नियोले १४ हजार १७८, लिपमोटरले ८ हजार ४७ र एक्सपेङले ५ हजार ८ सय ११ यूनिट गाडी डेलिभरी गरेका हुन् ।
यो वर्षको ११ महिना सकिदै गर्दा होजोन मोटरले गत वर्षको दाँजोमा १४२ प्रतिशतको विक्रीमा उछाल पाएको हो । होजोनले जनवरीदेखि नोभेम्बरसम्ममा १ लाख ४४ हजार २७८ वटा ईभी डेलिभरी दिएको जनाएको छ ।
होजोनले नोभेम्बरको अन्तिम दिनबाट नयाँ मोडल नेटा एस स्पोर्टस सेडान पनि डेलिभरी सुरु गरेको छ । यो मोडलमा नेटाले इनहाउस विकास गरेको इन्टेलिजेन्ट ककपिट सिस्टम ‘नेटा स्पेश’ को प्रयोग गरेको छ ।
नेटा एसमा क्वालकमको थर्ड जेनेरेशन स्न्याप ड्रायागन चीपका साथै १७.६ इन्चको विसाल सेन्ट्रल कन्ट्रोल स्कृन रहेको छ । यो कारमा प्यासेन्जर साइडमा समेत १२.३ इन्चको इन्फोटेन्मेन्ट स्कृन तथा ड्राइभर साइडमा १३.३ इन्चको इन्टुमेन्ट क्लस्टर दिइएको छ ।
चीनमा बाहेक होजोन मोटरका उत्पादन नेपाल र थाइल्याण्डमा समेत विक्री भइरहेका छन् । नेपाली बजारमा होजोन मोटरले उत्पादन गरेको नेटा भीको सफल विक्री भइरहेको छ ।
आकर्षक डिजाइनको नेटाभी एक क्रसओभर ह्याचव्याक कार हो । चौधरी ग्रूप अन्तर्गतको सिजी मोटर्सले ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेटा भी विक्री गर्दै आएको छ ।


