एपमै भाडा बार्गेनिङ गरेर चढ्न पाइने मोटरसाइकल र ट्याक्सी सेवा

काठमाडौं । अन्तराष्ट्रिय राइड हेलिङ सेवा ‘इन-ड्राइभर’ले काठमाडौंमा आधिकारीक सेवा सुरु गरेको छ । यसअघि यसको सेवा उपलब्ध भएपनि आधिकारीक आरम्भ भने भएको थिएन ।

‘इन-ड्राइभर’मा रियल टाइम डिल्स (आरटीडी) मोडल मार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यदि तपाईले गर्नु भएको मूल्य चालकलाई चित्त नबुझे उसले नयाँ मूल्य तोक्ने छ । यसमा सडकमा नै गाडीसँग बार्गेनिङ गरे जसरी उपभोक्ता र चालक बीच बार्गेनिङ हुनेछ ।

यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।

चालकले कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इन-ड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं । छिट्टै नै नेपालका मुख्य शहरहरुमा उपलब्ध गराउनेछौं । शुरुवाती ६ महिनामा इन-ड्राइभरले चालकसँग कुनै कमिसन पनि लिने छैन । त्यसपछि लागू हुने कमिसन पनि काठमाडौंमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा कम हुनेछ’, इन-ड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन्न् ।

इन-ड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।


Back_to_top