काठमाडौं । चिनियाँ ब्राण्ड ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको नेटा भी नेपाल आएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याएको नेटा भी अर्को हप्ताबाट बुकिङ सुरु हुन लागेको हो ।
क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नयाँ पक्ष हो ।
‘अहिले दुई यूनिट नेटा भी नेपाल आएको छ । अर्को हप्ताबाट हामी टेष्ट ड्राइभ र बुकिङ खुल्ला गर्छौ’, कम्पनी स्रोतले भन्यो ।
नेपाल आएको नेटा भी मोडलको क्रसओभरमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । सिजी मोटरले हरेक गाडी किन्ने ग्राहकलाई ६.६ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ ।
नेटा भी एसयूभी भने होइन, यो पूर्णत क्रसओभर मोडल हो । ठूलो ब्याट्री साइज भएपनि यसको मूल्य ३८ लाख रुपैयाँ रहने कम्पनी स्रोतले जनाएको छ ।


