कारको तुलनमा दुई पाँग्रे ईभीमा सरकारी अनुदान नै छैन : सूर्यांश वैद्यको अन्तर्वार्ता

काठमाडौं । नेपालमा एथर इनर्जीका उत्पादनले एक वर्ष पूरा गरेको छ । नेपालकै पुरानो अटोमोबाइल बिक्री गर्ने घराना वैद्यज् अर्गनाइजेशन अन्तर्गतको वैद्यज् इनर्जीले गत वर्षदेखि एथर ब्राण्डका विद्युतीय स्कुटर नेपाल ल्याएर बिक्री थालेको थियो ।

अन्य ब्राण्डभन्दा सुरूबाटै केही पृथकशैली अपनाएको वैद्यज् इनर्जीले सर्भिस सेन्टर निर्माण, फास्ट चार्जिङ स्टेशन निर्माण र कम्युनिटी राइडलाई एकसाथ अगाडि बढाइरहेको छ । एथरको नेपालमा विगत, वर्तमान र भविष्य लगायत विषयामा वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका युवा सूर्यांश वैद्यसँग मेरोअटोका हरि गजुरेलले गरेको कुराकानीको सम्पादित अंश :

एथरको नेपालमा पहिलो वर्ष कस्तो रह्यो ?

पहिलो वर्ष धेरै कुरा सिक्ने अवसर पायौं । हाम्रो योजना पनि सुरूको एक/दुई वर्ष सिक्दै अगाडि बढ्ने नै थियो । तर, पहिलो वर्षलाई समीक्षा गर्दा हामीले धेरै कुरा सफलतापूर्वक सम्पन्न गरे जस्तो लाग्छ । त्यसको मतलब सबैकुरा पूरा भयो भन्ने होइन, यो अवधिमा हामीले सिक्न पाएको धेरै राम्रा/नराम्रा कुरा भोलिको लागि मार्गनिर्देशन बन्नेछ । पहिलो वर्ष कम्युनिटी विल्डअप गर्दा, प्रडक्ट लन्च गर्दा वा अरू इभेन्टहरू गर्दा हामीले सफलता पायौं । टीम लिडरको हिसाबले हाम्रो टिमको पर्फमेन्स एकदमै राम्रो भयो ।

एथरले पहिलो पटक नाडा अटो शो २०२४ मा सहभागिता जनायो । तपाईं आफैँ पनि पूरै समय त्यहाँ खटेको हामीले देख्यौं । प्रतिक्रिया के थियो ?

पहिलो कुरा त अटो शोमा एथरको स्टलमा त्यस्तो भीड होला भन्ने सोचेकै थिएनौं । ठूलो संख्यामा अवलोकनकर्ता हाम्रो स्टलमा आउनुभयो । धेरैले सोध्ने प्रश्न चाहिँ यो स्कुटर चाइनिज हो कि भन्ने थियो । त्यहाँ हामीले ‘एथर स्कुटर मेड इन इन्डिया, मेड फर नेपाल’ भन्ने बुझाउन सफल भयौं ।

विगत ५ वर्षयताको इलेक्ट्रीक दुई पाँग्रेको बजार हेर्दा ग्राहकहरूले अलि भरपर्दो ब्राण्ड खोजेको बुझ्न सकिन्छ । एथरका प्रोडक्टहरू सुपेरियर छन्, त्यसले पनि ग्राहकमा अलि महँगो भयो कि भन्ने परेको हामीले त्यहाँबाट थाहा पाएका छौं । महँगो हुनुको कारण पनि हामीले अवलोकनकर्तालाई भन्यौं । सकेसम्म बुझाउने कोशिस गरेका थियौं । जति पनि अवलोकनकर्ता हाम्रो स्टलमा आउनुभयो, सबैले युनिक एक्स्पेरियन्स लिनुभयो जस्तो लाग्छ ।

तपाईंहरूको सर्भिस नेटवर्क र चार्जिङ नेटवर्क लगाउने योजना कहाँ पुग्यो ?

यस वर्ष हामी सर्भिस र चार्जिङ नेटवर्क बढाउने मै केन्द्रित छौं । अहिले हामीसँग उपत्यकामा दुई वटा डेडिकेटड सर्भिस सेन्टर छन् । तीनकुने र भक्तपुरको सर्भिसले सबैलाई समेट्न कठिन होला भनेर चाँडै ललितपुर, टेकु र बौद्धमा सर्भिस सेन्टर निर्माण अगाडि बढाउँदै छौं । हामीले ‘डोर टु डोर सर्भिस’को योनजा पनि ल्याउने तयारी गरेका छौं । यसले ग्राहकको समय धेरै बचत हुन्छ, हामीलाई पनि केही लगानी बचत गर्न सकिन्छ जस्तो लाग्छ ।

अहिलो उपत्यकामा हाम्रो १० वटा चार्जरहरू संचालनमा छन् । आगामी दशैंसम्ममा २० वटा पुर्याउने योजना छ । चार्जर लगाउने विषयमा हामीले सरकारसँग पनि समन्वय गरेर अघि बढ्ने कोशिस गरिरहेका छौं । हाम्रो ध्यान सहरी क्षेत्रमा बढी छ । एथरले पोखरामा २ वटा र चितवनमा २ वटा चार्जर लगाइसकेका छौं । हाम्रो एथर कम्युनिटीले काठमाडौं–पोखरा–चितवन जोड्ने हाइवेमा चार्जरको माग गरिरहनुभएको छ । यो हाइवेमा ६ वटा चार्जर लगाउँदै छौं । थप राखिने चार्जरहरूमा चार्ज गर्दा सन् २०२५ भरी पुरै निःशुल्क सेवा दिन्छौं ।

समग्र दुईपाँग्रे साधनको बिक्री बढ्दै गएको छ । इलेक्ट्रीक दुई पाँग्रे्रेको अवस्थालाई कसरी हेर्नु भएको छ ?

दुईपाँग्रे विद्युतीय साधनमा ग्रोथ छ, संख्या न्यून छ । त्यसो हुनुको कारण विद्युतीय दुईपाँग्रेमा सरकारी अनुदान कम भएर हो । जसरी चारपाँग्रे्रेमा ईभी र आइसको बीच ठूलो करको खाडल छ, दुईपाँग्रेमा छैन । त्यही कारण पेट्रोलबाट चल्ने स्कुटरभन्दा विद्युतीय स्कुटर महंगा छन् । अहिले हामीसँग भएको सबैभन्दा सस्तो स्कुटर नै ३ लाख ५० हजार रुपैयाँ छ । जबकि २ लाख १५ हजारबाटै पेट्रोल पाउन सकिन्छ ।

अर्को, भनेको अहिले ईभी बेच्ने कम्पनीहरूले पनि केही थान स्कुटर बिक्री गर्ने तर, सर्भिस र पार्टस् नदिने गरेको देखियो । यसमा हामी डेडिकेटेड रूपमा काम गर्दैछौं । लगानी गरेकै कारण एथर ब्राण्डमा ग्राहकको विश्वास बढ्दै गएको छ । अब विस्तारै ईभीमा ठूला ब्राण्डहरू प्रवेश गर्न थालेसँगै ग्राहकको विश्वास बढ्नेछ ।

तपाईंको बुझाइमा अहिलेको बजार विद्युतीय दुईपाँग्रेको लागि चुनौती कि अवसर ?

दुईपाँग्रेमा पेट्रोल साधनको हिस्सा ९६ प्रतिशत छ । ईभीको केबल ४ प्रतिशत हो । मैले गएको एक वर्ष ग्राहकले के खोज्छन् भन्ने कुरा नजिकबाट बुझ्न पाएको छु । यसले मलाई नेपालको दुईपाँग्रे ईभीको मार्केट च्यालेन्जभन्दा अपर्चुनिटी धेरै भए जस्तो लाग्छ ।

एथर इनर्जीले भारतमा नयाँ वारेन्टी प्लान ल्याएको छ । नेपालमा त्यो वारेन्टी दिने प्लान छ कि छैन ?

एथर इनर्जीले भारतमा ८ वर्षको वारेन्टी प्लान ल्याएको छ । हामीले पनि एथर इन्डियासँग कुरा गरिरहेको छौं । नेपालमा धेरै कम्पनीको २ देखि ३ वर्षको वारेन्टी मात्रै छ । हाम्रो अहिले पनि ५ वर्षको ब्याट्री वारेन्टी छ ।

भारतमा अघिल्लो वर्ष मनाइएको एथर डेमा ५ वर्ष पुरानो स्कुटरको ब्याट्री हेल्थ चेक गर्दा ९९ प्रतिशत पाएका थियौं । त्यसैले भारतमा ८ वर्ष वारेन्टी सुरू भएको हो । हामी पनि वारेन्टी बढाउन प्रयास गरिरहेका छौं ।


Back_to_top