काठमाडौं । नेपाल ईभी पेनिट्रेसनमा विश्वमै विश्वमै दोस्रो स्थानमा छ । सन् २०२५ मा नेपाल बिक्री भएका नयाँ कारमा ईभीको हिस्सा ७३ प्रतिशत रहेको थियो । सरकारले दिएको कर सहुलियत, बढ्दो चार्जिङ पूर्वाधार, सस्तो मूल्यमा आधुनिक फिचर भएका कार पाउनु लगायत कारणले चारपाँग्रे ईभीप्रति आकर्षण बढ्दो छ ।
चारपाँग्रे ईभीले बजारमा धमाका पिटिरहँदा दुईपाँग्रे भने स्थापित हुनै सकेको छैन । हाल नयाँ बिक्री हुने नयाँ दुईपाँग्रेमा ईभीको हिस्सा करिब ४ प्रतिशत मात्रै छ । नेपालमा ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर उपलब्ध भए पनि करिब आधा दर्जन मात्रै बजारमा टिक्न सकेको देखिन्छ ।
यसैबीच, नेपाली बजारमा भारतको चर्चित स्कुटर ब्राण्ड एम्पियर नेपाली बजारमा रि इन्ट्री गरेको । एसटीसी अटो सोलुसन प्रालिले एम्पियरको मेग्नस निओ र नेक्सस इलेक्ट्रीक स्कुटर बिक्री थालेको हो । सम्भावना र चुनौतीका बीच नेपाल आएको एम्पियर ब्राण्ड स्थापित गर्न आगामी रणनीति, चार्जिङ पूर्वाधार, टेक्नोलोजी लगायत बारेमा एम्पियरको माउ कम्पनी ग्रेभ्स इलेक्ट्रीक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक विकास सिंहसँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :
एम्पियर ब्राण्डका स्कुटर नेपालका लागि कति उपयुक्त होलान् ?
भारत र नेपालको भूगोल करिब एकैखालको छ । भारतमा स्थापित भइसकेको एम्पियर नेपाली बजारका लागि पनि उपयुक्त हुनेछ । नेपालमा विद्युती सवारीको बजार एकदमै तीव्र रूपमा बढ्दै गएको छ । त्यसैलाई मध्येनजर गर्दै हामी नेपाली बजारमा आएका हौं । नेपाल हाम्रो लागि एकदमै महत्वपूर्ण बजार हो ।
नेपालमा एम्पियरको दोस्रो इनिङ कसरी अघि बढ्छ ?
यो नेपालमा एम्पियरको दोस्रो अध्याय हो । यस अध्यायमा हामीले पहिला हाम्रा पुराना जति पनि ग्राहक हुनुहुन्छ उहाँहरूको कुनै पनि समस्या छन् भने त्यसको समाधान गर्नेछौं । त्यसका लागि हामीले सर्भिस क्याम्प आयोजना गरेर ग्राहकहरू माझ पुग्ने योजना बनाएका छौं । त्यसपछि, नेपालमा थप नयाँ उत्पादन ल्याउने योजना छ ।
एम्पियर भारतीय बजारमा एकदमै राम्रो गरिरहेको ब्राण्ड हो । हामी चाँडै नै आइपीओ पनि जारी गर्दैछौं । हामी दुईपाँग्रेका साथै तीन पाँग्रेमा एकदमै राम्रो पोजिशनमा छौं । हामी जहिले पनि सर्भिसमा काम गरिरहेका छौं ।
एम्पियर स्कुटरको मुख्य यूएसपी के हो ?
एम्पियरले जहिले पनि एलएफपी ब्याट्री प्रयोग गर्छ । हाम्रा एपलएफपी ब्याट्री माइनस ४० र प्लस ६० डिग्री तापक्रममा परीक्षण गरेका छौं । यसले नेपालको कुनै पनि क्षेत्रमा राम्रो पर्फमेन्स दिन सक्छ । हाम्रो ब्याट्रीको लाइफ २ हजार साइकल छ । हामीले नेपालमा सार्वजनिक गरेको नेक्सस स्कुटर अफ दि एयर इण्डिया भएको स्कुटर हो । यसले पनि एम्पियरका स्कुटरको गुणस्तर प्रमाणित गर्छ ।

नेपालमा एकदमै धेरै ब्राण्ड छन्, चर्को प्रतिस्पर्धा छ । यस्तोमा मूल्यले निकै ठूलो भूमिमा खेल्छ । यसमा एम्पियरको मूल्य रेन्जले कस्तो प्रभाव पार्छ ?
हामीसँग तीन रेन्जका स्कुटर छन् । इन्ट्री सेग्मेन्ट, भ्यालु सेग्मेन्ट र प्रिमियम सेग्मेन्ट छ । हाम्रो आफ्नै प्रडक्सन युनिट छ । जसले गर्दा हाम्रा उत्पादनहरूको मूल्य यसको गुणस्तरसँगै एकदमै भ्यालु म्याच गर्ने खालको छ ।
नेपालमा चिनियाँ र भारतीय ब्राण्डमध्ये कसलाई प्रतिस्पर्धीका रूपमा देख्नुहुन्छ ?
हामीले ईभीभन्दा पनि कम्बस्चन इन्जिन दुईपाँग्रेसँग प्रतिस्पर्धा गर्ने योजना बनाएका छौं । नेपालमा कम्बस्चन दुईपाँग्रेको बजार एकदमै राम्रो रहेको छ । हामी कम्बस्चन इन्जिनको मार्केट सेयर लिएर बजारमा ग्रो गर्ने योजनामा छौं ।
कम्बस्चन इन्जिनको तुलनामा एम्पियर ईभीको फाइदा के देख्नु हुन्छ ?
एम्पियरको कुरा गर्नुपर्दा यसको टिकाउ क्षमता कम्बस्चनको भन्दा कम छैन् । हामीले यो प्रमाणित नै गरिसकेका छौं । यसको पे लोड क्षमता र यसको डबल फ्रेम च्यासिमा आउँछ । यसको अनरशिप र मेन्टिनेन्स खर्च एकदमै कम छ । एलएफपी ब्याट्री, हिल होल्ड एसिस्ट र केनक्टिभिटी अर्को हाम्रो सबल पक्ष हुन जुन कम्बस्चन इन्जिनमा हुँदैनन् ।

वार्षिक कति स्कुटर बेच्ने योजना छ ?
हामी अहिले तत्काल धरै स्कुटर बिक्री गर्ने लक्ष्यका साथ बजारमा आएका छैनौं । हामी ब्राण्ड चिनाउँन र ग्राहकमा ईभीको अवरनेस फैलाउने योजनाका साथ आएका छौं । जब ईभीको अवरनेस फैलिन्छ, स्कुटर आफैं बिक्न सुरू हुन्छ ।
चार्जिङ नेटवर्क विस्तार गर्ने योजना के छ ?
हाम्रा स्कुटहरू कुनै पनि चार्जिङ पोइन्टहरूमा चार्ज गर्न सकिन्छ । हामी आफैं चार्जरहरू राख्ने भन्दा पनि अन्य चार्जिङ सर्भिस प्रोभाइडरहरू सहकार्य गरेर जाने योजनामा छौं ।

