जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गरे ।
यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि गरे ।
भरतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा तीव्र रुपमा बढ्दै गइरहेको पर्यटनका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै आफ्नो स्वागतका लागि गरेको प्रबन्धका लागि नेपाल सरकार, राज्य सरकार र नगर सरकार तथा स्वयं प्रधानमन्त्रीको पटक पटक प्रशंसा गरे ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उहाँले जनकपुर–आयोध्या बस सेवा र रामायण सर्किटको अवधारणाले धार्मिक पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।
धनुषाधाम, जनकपुरस्थित जानकी मन्दिर र वाल्मीकि आश्रम मिलाएर रामायण सर्किटको निर्माण गर्ने भन्दै उहाँले दुई देशबीच यसअघि भएका सम्झौतामा विलम्ब भएको र अबको युग २१औँ शताब्दी भएकाले अब त्यसो नहुने दाबी गरे ।