काठमाडौं । जापानी ब्राण्डहरू आँत्तिएका छन् । उनीहरू ईभी विकासमा पछाडि परेको महसुस गर्छन् । हरेक दिन, हरेक रात चिनियाँ उत्पादकले उनीहरूको होस उडाएको भान हुन्छ ।
उसो त जापानी उत्पादक ईभी विकासमा लागेको २८ वर्षभन्दा बढी भयो । टोयोटाले आफ्नो चर्चित एसयूभी र्याभफोरलाई सन् १९९७ मा नै ईभीमा विकास गरेको थियो । तर, त्यसपछिका वर्षमा उसको ईभीमा कुनै लगाव देखिएन ।
टोयोटापछि व्यावसायिक ईभी उत्पादनमा निसान निकै अगाडि देखियो । सन् २०१० मा उत्पादन सुरू गरेको निसान लिफ अहिले पनि बजारमा उपलब्ध छ । त्योसँगै निसानले क्रसओभर आर्या मोडल पनि विश्वका धेरै देशमा बिक्री गर्दै आएको छ ।
होण्डा, सुबरु, माज्दा, मित्सुबिसी, इसुजु जस्ता जापानी ब्राण्डहरू अझै अलमल्लमा छन् । विगतमा आन्तरिक बजारमा टोयोटासँग जुध्नु पर्ने बाध्यता र विश्व बजारमा बढ्दो लागतले निसानदेखि इसुजुसम्म थला पर्दै गए । होण्डा भने टोयोटाको लिगेसी पच्छाउँदै अगाडि बढ्यो ।
सन् २०१५ पछि चिनियाँ कार निर्माता, स्टार्टअप कम्पनी र सरकारको ध्यान न्यू इनर्जी भेहिकल उत्पादनमा केन्द्रीत भए । अप्रिल २३ तारिखबाट सुरू भएको अटो सांघाईमा भेटिएका एक चिनियाँ पत्रकार भन्दै थिए, ‘केही वर्ष अगाडि सांघाईमा घाम लाग्दा हामी रमाउँथ्यौं । अहिले कस्तो राम्रो घाम लाग्छ देख्नुभयो ।’

उनले यसो भन्नुको मुख्य कारण नियन्त्रण हुँदै गएको प्रदूषण हो । सरकारलाई प्रदूषण कम गर्ने चुनौती थियो । त्यसको लागि बढ्दो भेहिकल नियन्त्रण गर्नुपर्ने र कल कारखानाबाट निस्कने प्रदूषण कम गर्नु पर्ने थियो । दुवै काम सरकारले एक साथ अगाडि बढायो । करिब १० वर्षमा नै अभूतपूर्व सफलता चीनले पायो । यसबाट चीनले एउटा मात्रै फाइदा पाएन दुई फाइदा एक साथ पायो । पहिलो फाइदा औद्योगिक क्षेत्रमा हुने प्रदूषण कम गर्न सफल भयो ।
दोस्रो फाइदा थियो विद्युतीय कार ब्राण्ड जन्मिए । जापानी कम्पनीहरूले २८ वर्ष अगाडि अनुसन्धान र विकास गरेको पद्धतिलाई चिनियाँले तीव्र गतिमा विस्तार गरे । जसको कारण न्यू इनर्जी भेहिकलमा चीनको ढंका बज्यो । जापानीहरू अलमल्लमा परे ।
खोजमा एआई र उडानमा रकेटको जमाना सुरू भयो । चीनले आफूलाई त्यसमै अभ्यस्त बनायो । जापान हाइब्रिड भन्दै बस्यो । विश्वभर आफ्ना उत्पादनले बजार गुमाउन थाले । केही वर्ष अगाडिसम्म ६० प्रतिशत गाडी आयात गर्ने चीन विश्वकै ठूलो निर्यातकर्ता देश बन्यो । सस्तो ज्याला, ठूलो उत्पादन क्षमता, धेरै उपभोक्ता र राम्रो प्रतिफल प्राप्त गर्ने देश बनेसँगै चीनमा सन् १९९० देखि नै विदेशी लगानीकर्ताले पैसा खनाए ।
युरोप, अमेरिका र एशियाली सम्पन्न देशले उत्पादन भूमिको रूपमा चीनलाई रोजे । अहिले चीनमा विश्वका सबै ठूला र लिगेसी ब्राण्ड भनेर चिनिने कम्पनीको उत्पादन लाइनअप छ । त्यही उत्पादन लाइनअपको भरपुर प्रयोग गर्न जापानी ब्राण्डहरू लागि परेका छन् ।
ईभीमा लगानी बढाउँदै जापानी ब्राण्ड
चिनियाँ उत्पादक उड्ने कारमा लगानी गर्न थाले । त्यो पनि विद्युतीय उड्ने कार हुन् । अटोनोमस ड्राइभिङ होस् वा ड्राइभिङ इन्टेलिजेन्स सफ्टवेयर, चिनियाँ दुई कदम अगाडि पुगे । यस्तोमा जापानी ब्राण्ड अर्बौं डलर चीनमा लगाउन बाध्य भएका छन् ।

टोयोटाले बीजेडफोरएक्स चीन बाहिर उत्पादन गरेको थियो । त्यसपछि चीनमा दुई वर्षको दौरान बीजेड-थ्री, बीजेडथ्री एक्स, बीजेड-फाइभ र बीजेड-७ गरी चार मोडल देखायो । ती मध्ये तीन मोडलको बिक्री सुरू भएको छ । कम्पनीले चीनमा स्थानीय साझेदारसँग मिलेर ४ अर्ब अमेरिकी डलर तत्काल लगानी घोषणा गरेको छ ।
होण्डा र निसानले पनि चिनियाँ साझेदारसँग मिलेर लगानी विस्तार गर्दैछन् । उनीहरूको फोकस पनि बढ्दो चिनियाँ ईभी बजारमै छ । उनीहरूले पनि आधा दर्जन मोडल घोषणा गरेर काम अगाडि बढाएका छन् ।
माज्दाले पनि चीनमा नयाँ ईभी प्लान सार्वजनिक गरेको छ । कम्पनीले दुई अर्ब डलरभन्दा बढीको लगानी घोषणा गरेको हो । उसले पहिलो मोडल बिक्री पनि सुरू गरेको छ । ठूला जापानी ब्राण्डले चिनियाँ साझेदारसँग मिलेर ईभीहरू ल्याउने छन् ।
टिक्लान् चिनियाँ उत्पादनसँग
सबैभन्दा पेचिलो प्रश्न यही हो । अहिले चिनियाँहरूमा आफ्नो उत्पादन प्रयोग गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छन् । कुनै समय पैसा कमाएपछि अन्तर्राष्ट्रिय प्रिमियम ब्राण्डका गाडी र सामान प्रयोग गर्नुपर्छ भन्ने चिनियाँ धनाढ्यहरू अहिले आफ्नै उत्पादनलाई जोड दिने पक्षमा देखिन्छन् । त्यसैले चिनियाँ लगानीकर्ताले दिल खोलेर लगानी बढाएका छन् ।

आजैको दिनमा जापानी मात्रै होइन, संसारको कुनै पनि कार निर्माताले चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । उनीहरूको उत्पादन लागत, ब्राण्ड रणनीति, बजार विस्तारको योजना र मूल्यसँग कसैले प्रतिस्पर्धा गर्नै सक्दैन । यस्तोमा जापानी ब्राण्डलाई चीनमा ईभी बनाएर त्यहीका उत्पादनसँग प्रतिस्पर्धा गर्नु फलामको चिउरा चपाए सरह हुने देखिन्छ ।
भविष्यमा लिथियम आयोन ब्याट्रीको बलियो विकल्प दिन सकेको खण्डमा र मूल्यले साथ दिएको खण्डमा जापानी उत्पादकले प्रतिस्पर्धा गर्लान् । तर, अहिल्यैको अवस्थामा ईभीमा प्रतिस्पर्धा कल्पना गर्न सकिने कुरै होइन ।

