फेसलिफ्ट ईभी-६ को रेन्ज बढ्यो, एक पटक चार्जमा कति गुड्ला ?

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो इलेक्ट्रीक क्रसओभर एसयूभी ईभी-६ को फेसलिफ्ट मोडल विश्व बजारमा बिक्री सुरु गरिसकेको छ । कम्पनीको नयाँ फेसलिफ्ट मोडल पहिलेको तुलनामा इफिसियन्ट देखिएको हो ।

कियाले फेसलिफ्ट मोडलमा दिएको ८४ किलोवाट आवरको ब्याट्री प्याकले ५३ किलोमिटर बढी रेन्ज दिने देखिएको हो । कम्पनीले पहिला रहेको ७७.४ किलोवाट आवरको ब्याट्री परिवर्तन गरेर ठूलो बनाएको हो । कियाले यसमा प्रयोग गरेको एनएमसी ब्याट्री प्याकको इनर्जी डेनसिटी निकै उच्च रहेको छ । जसको कारण डब्लूएलटीपी टेस्टले यसको सिंगल चार्ज रेन्ज ५८१ किलोमिटर प्रमाणित गरेको हो ।

डब्लूएलटीपीको रिपोर्टले जे देखाएको भएपनि बास्तविक सडकमा परीक्षण गर्दा ईभी-६ को सहरी क्षेत्रको पर्फमेन्सको तुलनामा हाइवेमा राम्रो देखिएको हो । सहरमा फेसलिफ्ट ईभी-६ ले प्रतिकिलोवाट ५.१८ किलोमिटर रेन्ज दिएको थियो । जबकी हाइवेमा त्यो बढेर प्रतिकिलोवाट ६.६७ किलोमिटर पुगेको हो ।

जस अनुसार सहरी क्षेत्रमा ४३५ किलोमिटर र हाइवेमा ५६० किलोमिटर रेन्ज प्राप्त भएको हो । दुबै क्षेत्रको संयुक्त रेन्ज ४९८ किलोमिटर देखिएको हो । अटोकारका अनुसार हाइवेमा एसी प्रयोग भएको थिएन भने सहरी क्षेत्रमा एसी सहितको यात्रा भएको थियो ।

किया ईभी-६ नेपाली बजारमा पनि बिक्री हुँदै आएको मोडल हो । एक करोड २५ लाख रुपैयाँ मूल्य रहेको ईभी-६ प्रिमियम सेग्मेन्टमा बिक्री हुँदै आएको छ ।


Back_to_top