बजेटको मुखमा ईभी बिक्रेताको ‘प्रि-बजेट’ स्कीम, कसले के दिन्छन् ?

काठमाडौं । हरेक वर्ष बजेटको आउने बेला विद्युती सवारी साधन (ईभी) बजार तरंगित हुने गर्छ । बजारमा सरकारले ईभीको कर बढाउने हल्ला फैलिन्छ ।

जसकारण एकातिर गाडी किन्ने सोच बनाएका बजेट अघि नै किन्न खोज्छन् । अर्कोतर्फ व्यवसायीले बजारको मागभन्दा बढी गाडी ल्याएर राख्ने गरेको देखिन्छ ।

अबको १ महिनामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउँदै छ । स्रोतको चापमा परेको सरकारले यस वर्ष ईभीमा कर बढाउने गाँइगुइँ सुनिन थालेको छ । विगतमा जस्तै यस वर्ष पनि व्यवसायीले बजेट अघि धमाधम गाडी आयात गर्न थालेका छन् ।

अहिले मुख्य गरी चिनियँँ नाका तातोपानी र रसुवागढी भन्सार यार्ड ईभीले भरिन थालेका छन् । बजेट अघि ईभी व्यवसायी दोहोरो चटारोमा हुन्छन् । एकातिर गाडी आयात गर्न र  अर्कोतिर आयात गरिएका गाडी बिक्री गर्न ।

सकेसम्म बजेट अघि थन्किएका धेरै भन्दा धेरै गाडी बिक्री गर्ने उनीहरूको लक्ष्य हुन्छ । गाडी किन्न चाहनेले पनि बजेटपछि महँगिने देखेर सकेसम्म अघि नै किन्न खोज्छन् । त्यसैलाई मध्येनजर गर्दै गाडी बिक्रेताले विभिन्न स्किम समेत ल्याएर ग्राहकलाई आकर्षित गर्छन् ।

यस वर्ष पनि गाडी बिक्रेताहरूले धमाधम ‘प्रि बजेट स्कीम’  ल्याउन थालेका छन् ।  हालसम्म दीपल, ओमोडारजेकोले प्रि बजेट स्कीम घोषणा गरिसकेका छन् । अन्य ब्राण्डहरूले पनि आकर्षक अफर ल्याउने तयारी गरिरहेका छन् ।

कुनको कस्तो अफर ?

नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र एक्सचेञ्ज बोनस पाउने प्रि बजेट अफर ल्याएको छ ।

कम्पनीका अनुसार ग्राहकले आर्थिक वर्ष २०८२र८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा सुविधा पनि पाउने छन् । त्यस्तै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् ।

वैशाख १० गतेदेखि सुरू भएको यो अफर ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ । त्याे ४५ दिन भनेकाे बजेट आउने दिनसम्म हो ।

त्यस्तै, कम्पनीले दीपल ईभी किन्न चाहनेलाई सहजीकरण गर्न २० प्रतिशत डाउन पेमेन्टमै गाडी दिने भएको छ । यस फाइनान्स सुविधामा ब्याजदर पनि ८.९९ प्रतिशत मात्रै छ ।

हाल नेपालमा दीपलको एस ०७, एस ०७ एल, एल ०७ र ई०७ गरी मोडलका ईभी बिक्री भइरहेका छन् ।

त्यसैगरी, नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले न्यूनतम १० लाख ३९ हजार रुपैयाँ डाउन पेमेन्टमा गाडी किन्न सकिने अफर ल्याएको छ ।

कम्पनीका अनुसार ग्राहले न्यूनतम २० प्रतिशत डाउन पेमेन्टमै ओमोडा/जेकोका ईभी किन्न सक्नेछन् । किस्ताबन्दीमा ईभी ग्राहकले वार्षिक ८.०५ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्नेछ ।

त्यस्तै, ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्मको फाइदा पाउने छन् । साथै, १ वर्षको इन्स्योरेन्स, मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको रोड ट्याक्स फ्रीमा पाउने छन् । साथै ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, ७ किलोवाटको वाल चार्जर पाउने छन् ।

एसपीजीले ओमोडा ई-५ र जेकाे जे-६ बिक्री गर्दै आएको छ ।

त्यस्तै, एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले पनि प्रि बजेट स्कीम ल्याउने तयारी भइरहेको जनाएको छ ।

कम्पनीका जनरल म्यानेजर सुनिल क्षेत्रीले चाँडै स्कीम सार्वजनिक गरिने जानकारी दिए ।  ‘बजारमा केही कम्पनीले प्रि बजेट स्कीम घोषणा गरिसकेका छन् । हामी पनि ल्याउने तयारी गरिरहेका छौं,’ उनले मेरो अटोसँग भने, ‘अहिले स्कीममा के के सुविधा दिने भन्ने छलफल भइरहेको छ । टुंगो लगाएर चाँडै सार्वजनिक गर्छौं ।’

अन्य केही कम्पनीहरूले पनि प्रि बजेट स्कीमको तयारी गरिरहेको जनाएका छन् ।


Back_to_top