एक चार्जमा २५० किमि गुडाउन मिल्ने क्रुजर मोटरसाइकल

काठमाडौं । इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी साधन उत्पादकहरुले लामो रेन्ज प्रदान गर्ने स्कुटर तथा मोटरसाइकल उत्पादनमा अग्रसरता देखाइरहेको समयमा भारतीय कम्पनीले एक पटकको फुल चार्जमा धेरै रेन्ज दिने मोटरसाइकल बजारमा ल्याउने भएको छ ।

भारतीय इलेक्ट्रीक सवारी साधन उत्पादक कम्पनी कोमाकी इलेक्ट्रीकले फुल चार्जमा २५० किलोमिटर रेन्ज दिने ‘कोमाकी रेन्जर’ इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो । कम्पनीले हालै मात्र इलेक्ट्रीक सवारी साधनका लागि १ मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

कोमाकीले सन् २०२२ को जनवरीमा आफ्नो पहिलो उत्पादन बजारमा ल्याउने घोषणा गरेको छ ।

कोमाकी रेन्जर क्रुजर डिजाइनमा निर्माण भएको भारतीय पहिलो इलेक्ट्रीक मोटरसाइकल भएको कम्पनीको दावी छ । यसमा ५ किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । क्रजुर कन्ट्रोल, रिपियर स्वीच, रिभर्स स्वीच, एड्भान्स ब्रेकिङ सिस्टम, कनेक्टिभीटी जस्ता आधुनिक फिचर यसमा दिइने अनुमान गरिएको छ ।

कोमाकी इलेक्ट्रीक डिभिजनका निर्देशक गुन्जन मल्होत्राका अनुसार कोमाकी रेन्जर भारतको पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल हुनेछ । यसलाई चाँडै बजारमा ल्याउने तयारी गरेको कम्पनीले मूल्य पनि साधारण मानिसको पहुँचमा हुनेगरी कायम हुने मल्होत्राले जानकारी दिए ।


Back_to_top