सानो र सुन्दर इलेक्ट्रीक कार अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ ।

विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । ओराले एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दावी गर्दै आएको छ । चीनमा विक्री हुँदै आएको आर १ मा १४० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । नेपालको आधिकारीक वितरक भिजी इम्पेक्सले नेपाल आउने भर्सनमा केही बढी ग्राउन्ड क्लियरेन्स रहने दावी गरेको छ ।

निकै आकर्षक डिजाइनमा तयार भएको ओराको लम्बाई ३४९५ एमएम, चौडाई १६६० एमएम र उचाई १५६० एमएम रहेको छ । यसमा २४७५ एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ । लम्बाई अनुसार लामो ह्वीलवेस रहेकोले यो गाडी चलाउन निकै सहज हुने अनुमान गर्न सकिन्छ ।

ग्रेटवाल मोटर्सले आर १ मा ३५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री र ३५ किलोवाट क्षमताको मोटर दिएको छ । कम क्षमताको मोटर भएकै कारण यसलाई नेपालमा कम अन्तःशुल्क लाग्ने छ । यो गाडी किन्ने मानिसले वार्षिक सवारी कर पनि तिर्नु पर्दैन ।

गाडीमा अगाडि भ्यान्टिलेटेड डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एबीएस, इबीडी, हिल स्टार्ट एसिस्ट, दुई एयरव्याग, आइएसओ फिक्स चाइल्ड सिट, चाइल्ड डोर लक, पावर विन्डो, पछाडिको विन्डसिल्डमा डिफगर जस्ता सुरक्षा फिचर उपलब्ध रहने छन् ।

कारलाई सुविधा सम्पन्न बनाउन कम्पनीले भ्वाइस कन्ट्रोल, मल्टीफङ्सनल स्टेरिङ ह्वील, अगाडि र पछाडि नै भ्यान्टिलेटेड सिट, इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक एसी जस्ता फिचर प्रदान गरेको छ ।

कम्पनीले कारको भित्री फिचर जस्तै बाहिरी लुक्स पनि निकै सुन्दर बनाएको छ । गोलो आकारको एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, अगाडिको ग्रिलमा चार्जिङ पोर्ट, स्पोर्टी बडी डिजाइन र १५ इन्चको आकर्षक अलोय ह्वील दिइएको छ ।

आर १ को अपडेटेड भर्सन नेपाल आउने भएकाले यसको मूल्य कति कायम हुन्छ अहिल्यै एकिन भएको छैन । यद्यपी २४ लाख भित्रै यसको मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top