कोटेश्वरको जाम हटाउन थाल्यो सडक विभागले तयारी

काठमाडौं । कोटेश्वरको जाम खुल्ला गर्ने योजनासहित सडक विभागले यही बर्खासम्ममा मनोहरा करिडोरको बाटो खुल्ला गर्ने भएको छ । हाल विस्तार तथा मर्मतका क्रममा रहेको सो बाटो बिना मौषममा परेको पानी बाधक बनेको हो । 

मनोहरा करिडोरको बाटो खुलेपछि कोटेश्वरको जाम केही हदसम्म कम हुने विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी दिए । 

उनका अनुसार हाल मनोहरादेखि बालकुमारी सडकखण्डमा मेलम्ची खानेपानीको पाइप, ढलको पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । 

पछिल्लो समय सो सडकबाट केही साना मोटरहरु गुड्ने भए पनि त्यसलाई पूर्ण ग्राबेल गरेर मात्र अन्य सवारीहरु सञ्चालनमा ल्याइने उनले बताए । 

‘हामी केही दिनमै ग्राबेलको काम सुरु गर्ने छौँ, यो असारसम्म ग्राबेलको काम सकेर बर्खापछि पिच गरिर्नेछौँ, अहिले नै पिच गर्ने अवस्था छैन,’ शर्माले मेरोअटोसँग भने । 

उनले हरेक दिन पानी परिरहेकाले आफुले सोचे जस्तो काम गगर्न नसकेको बताए । कोटेश्वरको जाम हटाउन मनोहरा एक मात्र वैकल्पिक बाटो भएको उनले दाबी गरे । 

‘अहिले बर्खा अगाडीनै झरी परेकाले सडक विस्तार र त्यसमा ग्राबेल गर्ने काममा समस्या परेको छ,’ शर्माले भने । 

उनकाअनुसार मनोहराको पुल हुँदै बालकुमारी निस्केर काठमाडौं र ललितपुर जाने गाडी पास आउट गराउन सकिने छ । 

असारसम्ममा नरेफाँट लाइनको स्थानीय गाडीहरूलाई बालकुमारी हुँदै जाममा नपर्ने गरी मनहरा खोला हुँदै ललितपुर, काठमाडौं, कोटेश्वर भएर एरपोर्टतिर पनि छिराउने उनले बताए ।


Back_to_top