कम मूल्यमा नेपाल आउने भनिएका दुई इलेक्ट्रीक कारको अब कति पर्ला मूल्य

काठमाडौं । लकडाउन नभएको भए अहिले नेपालमा थप दुई इलेक्ट्रीक कारको बिक्री सुरु हुने थियो । महिन्द्राले ल्याएको केयूभी १०० इलेक्ट्रीक र टाटा नेक्सनले बिक्री सुरु गरिसकेका हुने थिए ।

तर, कोभिड १९ (कोरोना) भायरसको कारण यी दुबै कार नेपाल आउन सकेनन् । यी मध्ये महिन्द्रा केयूभी १०० माइक्रो एसयूभी हो भने टाटा नेक्सन सब फोर मिटर एसयूभी हो ।

भारतीय सवारी निर्माता कम्पनी महिन्द्रा र टाटाले उत्पादन गरेका यी दुबै कार इन्टरनल कम्बस्चन इन्जिनमा नेपाली बजारमा बिक्री भइरहेका थिए । यी गाडीको इलेक्ट्रीक मोडल नेपाल आउने क्रममा थिए ।

महिन्द्रा केयूभी १००

महिन्द्रा केयूभी १०० इलेक्ट्रीकमा ४० किलोवाटको मोटर र १५.९ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । यसमा रहेको मोटरले ५३ बीएच पावर र १२० एनएम टर्क प्रदान गर्छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था अनुसार यसमा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने छ ।

बजेटअघि नेपाल आएको भए यसमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने थियो ।
यसलाई घरायसी चार्जरले चार्ज गर्दा ६ देखि ७ घन्टामा फुल चार्ज हुने र एक पटकको फुल चार्जमा १२० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।

भारतमा ८ लाख २५ हजार भारु मूल्य कायम गरेर बिक्री सुरु भएको यो गाडी नेपाल आउँदा अब ३५ लाख हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

टाटा नेक्सन

टाटा मोटर्सले आफ्नो चर्चित इलेक्ट्रीक एसयूभी ‘नेक्शन इभी’ मा ९५ किलोवाटको मोटर प्रदान गरेको छ । त्यसैले यो कारमा ४० प्रतिशत भन्सार र ४० प्रतिशत नै अन्तःशुल्क लाग्ने छ । अन्य मूल्य अभिवृद्धि कार १३ प्रतिशत र सडक निर्माण दस्तुर ५ प्रतिशत लाग्ने हुँदा यो कारको मूल्य करिब ६६ लाख हाराहारीमा पुग्ने अनुमान लगाउन सकिन्छ ।

कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा ल्याएको छ । जसको भारतमा मूल्य १४ लाख देखि १६ लाखसम्म रहेको छ । यसमा रहेको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ भने यसमा ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयान ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।
यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चार्जरबाट ८ घण्टा लाग्छ भने डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ६० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

नयाँ ३५ प्रकारको कनेक्टेड फिचर रहेको यो कारलाई टाढाबाटै कन्ट्रोल गर्न सकिनेछ । स्मार्ट फोनको एपको माध्यमबाटै कारको स्क्यान समेत गर्न सकिने कम्पनीले जनाएको छ । जसको सहायताले कारको व्याट्री तथा मोटरका साथै अन्य टेक्नीकल पार्टसको स्टाटस थाहा पाउन सकिने छ ।


Back_to_top