काठमाडौं । युरोपियन अटोमोवाइल ग्रुप स्टेलान्टीसको समेत लगानी रहेको चिनियाँ स्टार्टअप कम्पनी लिप मोटरले ५ लाख गाडी उत्पादन गरेको छ । कम्पनीले पछिल्लो १०० दिनमा एक लाख यूनिट कार उत्पादन गर्दै अहिलेसम्मको उत्पादन ५ लाख यूनिट बनाएको हो ।
गत जुलाईमा ४ लाख यूनिट कार उत्पादन पुरा गरेको लीप मोटर्सले अगस्ट र सेप्टेम्बरमा मासिक ३० हजार यूनिटका दरले कार उत्पादन र बिक्री गर्न सफल भएको थियो । अक्टोबरमा झनै रफ्तारले उत्पादनमा लागेको कम्पनीले अहिलेसम्म ५ लाख यूनिट कार उत्पादनको कोशेढुङ्गा छोएको हो ।
कम्पनीले उत्पादन गरको ५ लाखौ भेहिकल नयाँ मोडलको सी-१६ हो । गत जुनमा लन्च भएको सी-१६ ब्याट्री इलेक्ट्रीक र एक्सटेन्डेड रेन्ज दुबै अप्सनमा उपलब्ध छ । लीप मोटरले गत सेप्टेम्बरमा ३३ हजार ७६७ भेहिकल डेलिभर गरेको थियो । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११३.७२ प्रतिशतले बढी हो ।
लीप मोटर्सले गत हप्ता मात्रै पेरिस अटो शोमा नयाँ मोडल बी-१० देखाएको छ । उक्त मोडल कम्पनीको ‘बी प्लेटफर्म’मा आधारित पहिलो ग्लोबल कम्प्याक्ट एसयूभी मोडल हो । यसको सुरुवाती मूल्य १४ हजार डलर रहेको छ ।


