काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी लिप मोटर्सको टी०३ भारतमा उत्पादन हुने भएको छ । कम्पनीले यसै वर्षको अन्तिसम्म भारतबाट टी ०३ उत्पादन थाल्ने भएको हो ।
लिप मोटर्समा यूरोपियन अटोमोबाइल जायन्ट स्टेलान्टिसको लगानी रहेको छ । स्टेलान्टीसले हाल भारतमा जीप र सिट्रोनको पेट्रोल तथा ईभी गाडीहरू उत्पादन गरिरहेको छ ।
कम्पनीले भारतमा पहिलो मोडलको रुपमा ह्याचब्याक मोडल टी०३ उत्पादन गर्ने जनाइएको छ । लिपको टी०३ ले भारतीय बजारमा टियागो ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, दोस्रो मोडलको रुपमा ५ सिटे इलेक्ट्रीक एसयूभी सी१० बनाउने छ । सी१० को प्रतिस्पर्धा बीवाइडी एटो-३, एमजी जेडएस ईभी, क्रेटा ईभी र मारुती ईभीएक्ससँग हुनेछ ।
कम्पनीले भारतीय बजारमा यसै वर्ष फिजिबिलिटी स्टडी समेत गरेको थियो । स्टेलान्टिसनले यसको आधिकारिक घोषणा नगरे पनि यसै वर्षको अन्त्यसम्ममा भारतमा उत्पादन सुरू हुने अनुमान गरिएको छ ।

कम्पनीले सुरूआतमा ए र सी सेग्मेन्टमा ईभीहरू उत्पादन गर्नेछ । त्यसपछि पछि एमपीभी, एसयूभी तथा ह्याचब्याकहरू विकास गर्नेछ ।
लिप मोटर्समा स्टेलान्टिसले १.५ बिलियन डलर लगानी गरी २० प्रतिशत स्वामित्व किनेको छ । त्यस्तै गत सेप्टेम्बरमा २०२३ मा इन्टरनेसनल एक्सपान्सनमा ५१ः४९ को जोयन्ट भेन्चर खडा गरेको थियो । लिप मोटर्स भारतमा उत्पादन हुने स्टेलान्टिसको जीप र सिट्रोनपछि तेस्रो ब्राण्ड हुनेछ ।
सन् २०२३ मा चिनियाँ बजारमा ३ लाख युनिटभन्दा बढि बिक्री गरेको लिप मोटर्सले अन्तर्राष्ट्रिय बजारमा भने १० हजार युनिट बिक्री गरेको थियो । कम्पनीले सन् २०२५ सम्ममा अन्तर्राष्ट्रिय बजारमा वार्षिक १ लाख युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।
लिप मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता वाणिज्य विकास प्रालि रहेको छ । कम्पनीले टी ०३ नेपाल ल्याउने पक्का भइसेकेको छ । कम्पनीले नेपालमा उक्त कारको बेस भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको २७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

