दुई वर्ष भित्र ललितपूरमा विद्युतीय साधन, साइकलको पहिलो शोरुम संचालनमा

काठमाडौं । ललितपूर महानगरमा साइकल लेन बनाएर चर्चा बटुलेका मेयर चिरिबाबु महर्जनले अवको दुई वर्षभित्र ललिपूर महानगरमा चल्ने सार्वजनिक यातायात पूर्णत इलेक्ट्रीक हुने बताएका छन् ।

आज पुल्चोकमा लेक्ट्रा ब्राण्डको इलेक्ट्रीक साइकलको शोरुम उद्घाटन गर्दै मेयर महर्जनले चाँडै ४ वटा बिद्युतीय बस संचालन गर्न लागेको बताए ।

‘अबको केही दिनमा नै ४ वटा विद्युतीय बस संचालनमा ल्याउने तयारी गरेका छन् । यही आर्थिक वर्षमा थप ४ वटा विद्युतीय बस ल्याउँछौं । अबको दुई वर्षमा सार्वजनिक यातायात लगभग विद्युतीय मात्रै बनाउने महानगरले योजना बनाएको छ’ मेयर महर्जनले भने ।

उनले चाँडै ललितपुर महानगर भित्र परेको ९ किलोमिटर सडकको दायाँ बायाँ दुबै साइडमा साइकल लेन निर्माणको ठेक्का लागिसकेको बताउँदै भने, ‘वर्ष सकिएपछि निर्माणको काम सुरु हुन्छ । दुबैतर्फ गरेर करिब १८ किलोमिटर साइकल लेन तयार हुन्छ । त्यसको साथै, बागमती करिडोरमा पनि साइकल लेन निर्माण गर्ने छौं ।’

लामो सयमदेखि कृषिजन्य उद्योगमा रहेको निम्बस समूहले इलेक्ट्रीक साइकल विक्रीमा हात हालेको हो । भारतीय ब्राण्ड हिरोले उत्पादन गरेको लेक्ट्रा ब्राण्डका ७० हजारदेखि १ लाख ३९ हजारसम्मका साइकल शोरुममा विक्रीको लागि राखिएको छ ।

साइकल विक्रीको सुरु गर्दै निम्बस समूहका चेयरम्यान आनन्द बागरियाले भने, ‘ललितपूर साइकलमैत्री सहर बन्दै गएको कारण हामीले यहाँ शोरुम खोलेका हौं । त्यसमा पनि साझा पेट्रोल पम्पको अगाडि शोरुम राखेर हामीले ईभीको उपयोग बढाउनु पर्छ भन्ने संदेश दिन खोजेका छौं ।’

लेक्ट्रा ब्राण्डका ११ मोडलका साइकलको आजबाट विधिवत विक्री सुरु भएको हो । नयाँ शोरुम संचालनको अवसर पारेर कम्पनीले १० दिनसम्म अर्थात् अगष्ट १७ तारिखसम्म हरेक खरिदमा १० हजार नगद छुट दिने जनाएको छ ।


Back_to_top