काठमाडौं । भारतीय कम्पनी लोहिया अटोले नेपालमा पहिलो पेट्रोलबाट चल्ने थ्री ह्विलर ‘हमसफर’ अटो रिक्शा लन्च गरेको छ । कम्पनीले नेपालबाट पहिलो पटक विश्व बजारमा प्रवेश गरेको हो ।
कम्पनीले नेपाली बजारमा लोहिया अटोको लागि बितरक नियुक्त गरिसकेको छ तर कसले नेपालमा डिलर लियाे भन्ने केही खुलाइएकाे छैन । कम्पनीले नेपालबाहेक अन्य दक्षिण एशियाली मुलुकहरुमा पनि आफ्ना उत्पादनहरु निर्यात गर्ने योजना लिएको छ ।
लोहिया इण्डष्ट्रिजका सिईओ आयुष लोहियाले आफ्ना उत्पादनहरु साउथ ईष्ट र छिमेकी मुलुकहरुमा निर्यात गर्ने बताए । यो बढिरहेको बजार हो र हामीले यसको शुरुवात नेपालबाट गरेका छौं, हामी पहिलो वर्ष ६०० यूनिट बेच्ने कोसिश गरिरहेका छौं र यसको लागि हामीले १० नयाँ डिलरहरु नियुक्त गरेका छौं, उनले भने ।
भारतमा लोहिया अटो कम्पनीले विशेषगरि इलेक्ट्रिक भेहिकलमा ध्यान केन्द्रित गरेको छ । कम्पनीले भारतमा इलेक्ट्रिक थ्री ह्विलर तथा ई स्कूटर उत्पादन गर्ने गर्छ । यसका साथै कम्पनीले डिजलबाट चल्ने थ्री ह्विलर अटो पनि बनाउने छ ।
हाल कम्पनीले २ इलेक्ट्रिक स्कूटर उत्पादन गरेको छ भने बजारमा यसले ओकिनावा, हीरो इलेक्ट्रिक, ट्वान्टी टू मोटर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।