काठमाडौं । इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले आक्रमक बजार विस्तारको रणनीति तयार गरेको छ । क्रमिक रुपमा ह्याचव्याक र सेडान कारको बजार घट्दै गएसँगै आफ्नो बजार हिस्सालाई जोगाइ राख्न कम्पनीले एक पछि अर्को एसयूभीको तयारी गरिरहेको छ ।
सन् २०२२/२३ मा कम्पनीले ५ नयाँ मोडल बजारमा ल्याउने योजना तयार गरेर काम गरिरहेको छ । मारुती सुजुकीले सबैभन्दा पहिला आफ्नो चर्चित सब फोर मिटर एसयूभी ब्रेजाको सेकेन्ड जेनेरेशन मोडल ल्याउँदै छ ।
यसअघि बजारमा उपलब्ध ब्रेजाको तुलनामा फिचर लोडेड हुने नयाँ जेनेरेशन ब्रेजामा सनरुफ, हेडअप डिस्प्ले, पहिलेको भन्दा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, ६ वटासम्म एयरव्याग, ब्रेक एसिस्ट सिस्टम, नयाँ फ्रन्ट ग्रिल, स्लीकर एलइडी हेडल्याम्प, पूर्णत नयाँ डिजाइनमा तयार भएको रियर साइड पाउन सकिन्छ ।
सुजुकीले ५ डोरमा उत्पादन गर्ने जनाएको जिम्नी पनि यही वर्ष भारतीय बजारबाट विक्री सुरु हुनेछ । लामो समयदेखि विश्व बजारमा सफल यो सब फोर मिटर अफ रोड एसयूभीमा १.५ लिटरको इन्जिन रहने छ । ५ डोर मोडल ३ डोरको तुलनमा सहज हुने भएकोले यसले राम्रो बजार लिने अपेक्षा गर्न सकिन्छ ।
त्यसैगरी सुजुकीले मिड साइज एसयूभी सेग्मेन्टमा ल्याउने नयाँ मोडलको उत्पादन सुरु गरेको समाचारहरु बाहिर आएका छन् । टोयोटा र मारुती सुजुकीले संयुक्त रुपमा उत्पादन गर्ने नयाँ एसयूभी सेप्टेम्बर २०२२ मा बजारमा आउने अपेक्षा गरिएको छ ।
विशेषत भारत र नेपालको बजारमा सफलता पाइरहेका क्रेटा, सेल्टोस, कुशक र टाइगुन जस्ता मोडलसँग यो नयाँ मोडलले सिधा प्रतिस्पर्धा गर्नेछ । सम्भवत कम्पनीले यो नयाँ मोडलमा १.५ लिटर इन्जिनको साथ हाइब्रिड टेक्नोलोजी प्रदान गर्नेछ ।
मारुती सुजुकीले सन् २०२० मा नै घोषणा गरेको बलेनोमा आधारित क्रसओभर मोडल पनि २०२३ को सुरुवात मै आउने अपेक्षा गरिएको छ । हाइब्रिड टेक्नोलोजीमा आधारित नयाँ क्रसओभर मोडलले एसयूभी चाहने ग्राहकको आवश्यकता पुरा गर्ने अनुमान गरिएको छ । यसको अलावा कम्पनीले स्वीफ्टमा आधारित नयाँ क्रसओभर पनि सन् २०२३ भित्रै बजारमा ल्याउने अनुमान गरिएको छ ।


