काठमाडौं । जर्मन लग्जरी अटोमोवाइल उत्पादक मर्सिडिजले नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभीको टिजर इमेज सार्वजनिक गरेको छ । कम्पनीले जीएलसी सिरिजमा ल्याउने नयाँ ईभीमा अहिलेसम्मकै विशिष्ट फिचर उपलब्ध हुनेछन् ।
मर्सिडिजले आफ्नो नयाँ एसयूभीमा रेट्रो फ्युचरिस्टीक इलुमिनेटेड ग्रिल डिजाइन प्रयोग गरेको छ । आगामी महिना जर्मनीको म्युनिकमा हुने अटो शोमा यसलाई देखाउने छ ।
अन्तर्राष्ट्रिय मिडिया र शोसल मिडियामा मर्सिडिजको ‘आइक्याचिङ ग्रिल डिजाइन’ले ठूलो स्थान पाइरहेको छ । यसको फ्रन्ट ग्रिलमा ९४२ वटा एलइडी लाइट डटहरुको प्रयोग गरिएको छ ।
बीएमडब्लूको आईएक्स थ्री र पोर्श्चको मकानसँग सिधा प्रतिस्पर्धा गर्ने नयाँ एसयूभीमा मर्सिडिजले इक्यूइ र इक्यूएस ईभीमा प्रयोग भएको ‘बोरिङ सोपबार डिजाइन’लाई परिवर्तन गरेको हो ।
मर्सिडिजले नयाँ एसयूभीमा ‘जीएलसी ४०० फोर म्याटिक इक्यू टेक्नोलोजी’को प्रयोग गरेको छ । ८०० भोल्ट आर्किटेक्चरमा बनेको नयाँ एसयूभीलाई मात्र १० मिनेटको चार्जमा २६० किलोमिटर गुडाउन पुग्ने कम्पनीको भनाइ छ । यसले ३२० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्ने छ ।
जर्मन लग्जरी कार निर्माताले यसमा प्रयोग भएको ब्याट्री, मोटर, सुरक्षा फिचर लगायतका कुनै पनि विषयमा जानकारी बाहिर ल्याएको छैन । यदि, तपाईलाई थप जानकारी चाहिएमा म्युनिक अटो शोसम्म प्रतिक्षा गर्नु पर्नेछ ।

