काठमाडौं । बेलायती मोटर कम्पनी मोरिस ग्यारेजको उत्पादन एमजी ब्राण्डका गाडीहरू नेपाली बजारमा विगत दुई वर्षदेखि उपलब्ध रहँदैआएको छ ।
सुरुमा एसएलआर टेक्नो ट्रेड प्रालिले नेपाली बजारमा भित्र्याएको एमजीका गाडीहरू अहिले पारामाउन्ट मोट्र्स प्रालिले बिक्री–वितरण गर्दैआएको छ । कम्पनीले अहिले नेपालमा चारवटा मोडलका एसयूभीहरू बिक्री गर्दैआएको छ ।
‘हामीसँग अहिले चार मोडलका कुल नौ भेरिएन्टमा गाडीहरू उपलब्ध रहेका छन् । यसलाई नयाँ सिराबाट बजारमा ल्याउन एमजीको अन्तर्राष्ट्रिय मापदन्डअनुसारको शोरुम निर्माण गरिरहेका छौँ’ कम्पनीका महाप्रबन्धक सचिन अर्यालले मेरोअटोसँग भने ।
करिब ३००० स्क्वायर फिटमा निर्माण कार्य चलिरहेको शोरुमको ९५ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ ।
यही महिनाको तेस्रो हप्तासम्ममा नयाँ शोरुममा सरिसक्ने जानकारी दिँदै अर्यालले भने ‘मोरिस ग्यारेजको डिजाइनमा अन्तर्राष्ट्रियस्तरको यस शोरुममा एकैपटक आठजनासम्म कस्टुमरसँग ब्यावसायिक डिल गर्न सकिने कस्टुमर लाउञ्ज रहेको छ ।’
कम्पनीले शोरुमको माथिपट्टि अफिस रहने गरी निर्माण गरेको छ ।


