काठमाडौं । एमजीले विन्डसर ईभीको प्रो भेरियन्ट लन्च गरेको छ । नयाँ विन्डसरमा केही फिचर थप भएर आएको हो ।
एमजीले विन्डसर प्रोमा ५२.९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसलाई सिंगल चार्जमा ४४९ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
विन्डसर प्रोलाई ७.४ किलोवाटको चार्जरले ९ घन्टा ३० मिनेटमा फुल चार्ज गर्छ । त्यस्तै यसले ६० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले २० बाट ८० प्रतिशत चार्ज गर्न ५० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
स्ट्याण्डर्ड मोडलकै जस्तो डिजाइन भएको यो कम्प्याक्ट युटिलिटी भेहिकलमा ब्याट्री साइज ठूलो भएता पनि इलेक्ट्रीक मोटर भने समान छ । यसमा १०० किलोवाटको मोटर दिइएको छ ।
एमजीले नयाँ विन्डसर प्रोमा १८ इन्चको पृथक अलोय ह्वील दिएको छ । भेहिकल टु भेहिकल र भेहिकल टु लोड सुविधा उपलब्ध कारमा पावर टेलगेट र लेवल २ एडास सेफ्टी फिचर पनि थप भएर आएको हो ।
कम्पनीले नयाँ भेरियन्टलाई सेलाडन ब्लु, ग्लेज रेड र अरोरा सिल्भर जस्ता नयाँ कलर अप्सन दिएको छ । भारतीय बजारमा एमजी ईभी प्रोको मूल्य १७ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
रेगुलर मोडल नेपाल आउँदै
एमजीको रेगुलर मोडल नेपाली बजारमा आउने भएको छ । जेठको पहिलो साता भित्रै नेपालमा बिक्री सुरु हुने विन्डसर ईभी कति मूल्यमा आउँछ एकिन भएको छैन ।
पारामाउन्ट मोटर्सले १०० किलोवाटको मोटर क्षमता र ३७ किलोवाट आवरको ब्याट्री सहित विन्डसर नेपाली बजारमा बिक्री सुरु गर्नेछ ।