काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले सोमबार सुरु भएको जेनेभा अटो शोमा पहिलो हाइब्रिड कार अनभिल गरेको छ । कम्पनीले १.५ लिटर पेट्रोल इन्जिनमा इलेक्ट्रीक मोटर दिएर हाइब्रिड कार देखाएको हो ।
कम्पनीले ल्याएको हाइब्रिड टेक्नोलोजी ‘सेकेन्ड जेनेरेशन’ भएको कम्पनीले जनाएको छ । चिनियाँ एसएआईसी ग्रुपले यसलाई हाइब्रिड प्लस टेक्नोलोजी नाम दिएको छ । यसमा थ्री स्पीड हाइब्रिड अटोमेटिक गियरबक्स रहेको छ ।
यसको पेट्रोल इन्जिनले १०१ हर्सपवार र इलेक्ट्रीक मोटरले १३४ हर्सपावर उत्पादन गर्छ । यसको दुबै इन्जिनले संयुक्त रुपमा १९२ हर्सपावर प्रदान गर्छ । एमजी–३ को हाइब्रिड इन्जिनमा १.८३ किलोवाट आवरको व्याट्री प्याक रहने छ ।
कम्पनीले यो हाइब्रिड टेक्नोलोजी जापानी अटो जायन्ट टोयोटाको हाइब्रिडभन्दा एड्भान्स रहेको जनाएको छ । यसको हाइब्रिड टेक्नलोजीमा ५ फरक मोड रहेको छ ।
१. ईभी मोडः यो मोडमा गाडीको ब्याट्रीमा चार्ज रहेसम्म इलेक्ट्रीक मोटरले मात्र ड्राइभ गर्छ ।
२. सिरीज मोडः इन्जिनले जेनेरेटरको काम गर्छ । यसमा इलेक्ट्रीक मोटरले ड्राइभ गर्छ ।
३. सिरीज एण्ड चार्जः यसमा कम स्पीडमा गुड्दा पेट्रोल इन्जिनले ब्याट्री चार्ज गर्नुका साथै गाडीमा रहेको इलेक्ट्रीक मोटरलाई पावर दिन्छ ।
४. ड्राइभ एण्ड चार्जः पेट्रोल इन्जिनले ह्वीललाई ड्राइभ गर्ने र जेनेरेटरको माध्यमबाट ब्याट्री पनि चार्ज हुन्छ ।
५. प्यारलल मोडः यसमा पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटरले संयुक्तरुपमा काम गरी ह्वीललाई पावर दिन्छ ।
एमजी–३ मा ड्राइभरले नै इको, स्ट्याण्डर्ड र स्पोर्ट्स मोड आफै छनौट गर्न सक्नेछ । एमजीले यो कार बी सेग्मेन्टको सबैभन्दा छिटो स्पीडमा गुड्ने कार भनेको छ । यो कार जम्मा ८ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।


