एमजी-४ इलेक्ट्रिक ह्याचब्याक अटो एक्स्पोमा सार्वजनिक

काठमाडौं । एमजी मोटर इन्डियाले अटो एक्स्पो २०२३ मा आफ्नो बहुप्रतिक्षित एमजी-४ इलेक्ट्रीक ह्याचब्याक सार्वजनिक गरेको छ ।

एसएआइसीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित रहेर निर्माण गरिएको यस इलेक्ट्रीक ह्याचब्याक विश्वव्यापी रूपमा सन् २०२२ को जुलाइमा अनावरण भएको थियो।

एमजी-४ ईभी हाल ५१ किलोवाट आवर र ६४ किलोवाट आवर गरी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ । एमजीका अनुसार यसमा रहेको सानो ब्याट्री प्याक भेरियन्टले ३५० किलोमिटर र ठूलो ब्याट्री भएकोले ४५२ किलोमिटर रेन्ज प्रदान गर्दछ । यसको टप स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यो कारले ८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

यसमा भएको सानो ब्याट्री प्याकसँगको मोटरले १६७ ब्रेक हर्सपावर आउटपुट दिन्छ भने २५० एनएम पीक टर्क प्रदान गर्छ । त्यस्तै, ठूलो ब्याट्रीसँगको मोटरले २०० ब्रेक हर्सपावर र २५० एनएम पीक टर्क उत्पादन गर्छ । एमजी-४ ईभीले १५० किलोवाट सम्मको डीसी चार्ज सपोर्ट गर्ने बताइएको छ ।

स्पोर्टी लुक्स रहेको एमजी-४ को डिजाइन निकै आकर्षक रहेको छ । यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलईडी टेल ल्याम्पहरूले यसमा थप आकर्षण प्रदान गर्नेछ। साथै, यस ईभीको क्लिन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर स्क्रिन हेर्दा कम्पनीले इन्टेरियर मिनिमल राखेको पाइन्छ ।

२ हजार ७०५ एमएम ह्वीलबेस रहेको एमजी-४ को लम्बाइ ४.२ मिटर भन्दा बढी रहेको जनाइएको छ । यसमा एङ्गुलर हेडल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपिङ बोनट देख्न सकिन्छ । यो कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ।

यो कारमा वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।


Back_to_top