काठमाडौं । नागढुंगा-मुग्लिन सडकमा चाडपर्व लक्षित मर्मत तथा सुधार योजना लागू गरिएको छ । सडक विभाग र नागढुंगा मुग्लिन सडक आयाजनाले संयुक्त रूपमा सडक मर्मत तथा सुधार योजना लागू गरेका हुन् ।
नजिकिँदो दशैं, तिहार जस्ता चाडपर्वलाई मध्येनजर गर्दै सडकको अवस्था सुधार्न लागिएको हो । आयोजनाका अनुसार सडक मर्मत तथा सुधार योजना अन्तर्गत सडकखण्डमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो व्यवस्थापन र आपतकालीन अवस्थामा उद्धारका लागि आवश्यक तयारी गरिएको छ ।
अहिले सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । ३ खण्डमा स्तरोन्नति भइरहेको यस आयोजनाको सम्बन्धित ठेकेदारहरूले नै खाल्डाखुल्डी पुरेर यात्रालाई सहज बनाउने काम गरिरहेको आयोजनाले जनाएको छ ।
त्यस्तै, बाढी र पहिरोजस्ता मनसुनजन्य प्रकोपका कारण सडक अवरुद्ध भएमा तत्काल यातायात सुचारु गराउन चौबिसै घण्टा एक्स्काभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै, सडकमा कुनै अवरोध आएमा तत्कालै सम्पर्क गर्न हेभी उपकरणहरू, ठेकेदारहरू र परामर्शदाताहरूको सम्पर्क नम्बरसहित सूची जारी गरिएको छ । साथै, पहिरो नियन्त्रण लगायत कामहरू पनि जारी छन् रहेका छन् ।

