चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अब तयार अबस्थामा पुग्न लागेको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।
दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।
तीन खण्डमा बिभाजन गरेर निर्माण गरिएको यो सडक आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९.६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९.८ प्रतिशत काम सम्पन्न भएको खनालले बताए ।
सो सडक हेर्दैआएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ ।