बाढीबाट पुगेको क्षतिप्रति नाडाको सहानुभूति, सकेको सहयोग गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले रसुवामा आएको बाढीपहिरोबाट पुगेको क्षतिप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।

मंगलबार नाडाले एक विज्ञप्ति जारी गर्दै केरुङ-रसुवागढी मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको बताएको हो ।

मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले सुख्खा बन्दरगाहको पार्किङमा रहेका कन्टेनर, विद्युतीय गाडी बगाएको थियो ।

‘यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं । आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दर्छौं,’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संस्था हरेक कठीन घडीमा अटोमोबाइल व्यवसायीको साथमा रहेको बताउँदै नाडाले पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाउने बताएको छ ।

साथै, यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने सो गर्न पनि तयार रहेको नाडाले जनाएको छ ।


Back_to_top