रसुवागढीबाट सामान आयात अनिश्चित, तातोपानीको सडक पनि छैन भरपर्दो

काठमाडौं । रसुवागढी नाका हुँदै हुने नेपाल-चीन बीचको व्यापार अनिश्चित भएको छ । गएराति चीनतर्फबाट आएको भीषण बाढीले रसुवागढीस्थित चीन-नेपाल जोड्ने मितेरी पुल बगाएसँगै दुई देशको सम्पर्क टुटेको हो ।

बाढीले रसुवागढी पुग्ने पासाङल्हामु राजमार्गमा समेत ठूलो क्षति पुर्याएको छ । राजमार्गको स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक ठाउँ ठाउँमा बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

‘बाढी मितेरी पुल बगाएको छ । स्याफ्रुबेसीँदेखि रसुवागढीसम्मको सडक पूरै अवरुद्ध । ठाउँठाउँमा बाढीले कटान गरेको छ,’ उनले मेरोअटोसँग भने, ‘अहिले उद्धारमै व्यस्त छौं । सडकमा पुगेको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।’

सडकको पुगेको पूरै क्षतिको विवरण नआइ कहिलेसम्म संचालनमा ल्याउन सकिन्छ भन्ने थाहा नहुने उनले बताए । ‘चीनसँगको व्यापार कहिलेसम्म बन्द रहन्छ भन्न सक्ने अवस्था छैन । सडक र पुल दुवै बगाएको छ । कटान भएको सडकको पूरै विवरण नआइ कहिलेसम्म बनाउन सकिन्छ थाहा हुँदैन । सडकमा कतै नयाँ ट्रयाक खोल्नुपर्ने र कतै पर्खाल लगाउने पर्ने हुनसक्छ । पारी जानका लागि नयाँ पुल नबनाइ सम्भव हुँदैन ।’ बेलिब्रिज जडान गरेर भए पनि चाँडै आवतजावत खुलाउनु पर्ने उनको भनाइ छ ।

चाडवाडको मुखैमा मुख्य व्यापारिक नाका बन्द भएपछि व्यवसायी मारमा परेका छन् । चीनबाट लोड भएर नेपालतर्फ आइरहेको स्याउ, लसुन जस्ता सामान बाटोमै कुहिएर खेर जाने सम्भावना देखिएको छ । नकुहिले सामान तातोपानी नाका वा जहाजमार्फत ल्याउन मिल्ने भए पनि ढुवानी लागत र समय दुवै बढ्ने छ ।

रसुवागढी चीनसँग व्यापार हुने १४ नाकामध्ये सबैभन्दा ठूलो नाका हो । यस नाका हुँदै वार्षिक १ खर्ब बढीको व्यापार हुन्छ । यस नाकाबाट चालु आवको ११ महिना (जेठसम्म)मा ८३ अर्बको व्यापार भएको छ । यस नाकाबाट मुख्यगरी विद्युतीय सवारी साधन, ओखर, स्याउ, लत्ताकपडा लगायत सामग्री आयात हुँदै आएको छ ।

तातोपानी नाका पुग्ने सडक छैन भरपर्दो

रसुवागढीको विकल्प बन्न सक्ने तातोपानी नाका पुग्ने सडकको अवस्था पनि जीर्ण छ । काठमाडौंबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म सडकको अवस्था ठिकै रहे पनि बाह्रबिसेदेखि कोदारीसम्मको सडकको अवस्था नाजुक छ । कुल ११४ किलोमिटर सडकमध्ये करिब २६ किलोमिटर (बाह्रबिसे-कोदारी खण्ड )मा पहिरो र बाढी दुवैको उच्च जोखिम छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले सडकको अवस्था निकै दयनीय रहेको बताए । अहिले पनि सामान्य पानी पर्ने बित्तिकै लेदोसहितको पहिरो आउने हुनाले सडक अवरुद्ध भइरहने गरेको उनले बताए ।

‘तातोपानी नाका आइपुग्ने सडक भरपर्दो छैन । सामान्य पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुन्छ । कति बेला कहाँ पहिरो खस्छ । कहाँ सडक भासिन्छ ठेगान छैन,’ उनले मेरोअटोसँग भने, ‘काठमाडौंबाट बाह्रबिसेसम्मको सडकको अवस्था ठिकै छ । तर, बाह्रबिसेबाट बोर्डरसम्म निकै जोखिमपूर्ण छ ।’

उनका अनुसार भन्सार कार्यालय र चिनियाँ सीमा नाका बीचको ठाउँ कोदारीमा पहिरो खसिरहन्छ । त्यस्तै, भन्सार कार्यालयबाट काठमाडौंतर्फ जाँदा बाकलाङ, कोपालाङ, लिपिङ लगायत ठाउँमा पहिरो खस्ने र सडक भासिरहने समस्या छ । अहिले पनि दिन दिनै केही घण्टा सडक अवरुद्ध भइरहने बताए ।

‘अहिले पनि दिनदिनै सकड बन्द भइरहन्छ । अवरुद्ध हुन्छ खुलाइन्छ । फेरि पानी पर्ने बित्तैकै बन्द भइहाल्छ । यस्तोमा ढुक्कले सामान आयात गर्न सक्ने अवस्था छैन,’ उनले भने । अवरुद्ध सडक खुलाउन सडक डिभिजनले डोजर स्ट्याण्ड बाइ राखेको उनले बताए ।

चालु वर्षमा मात्रै तातोपानी नाका आइपुग्ने सडक ७५ पटक बन्द भइसकेको उनले बताए । सडककै कारण चालु आवमा भन्सार लक्ष्य समेत हासिल नहुने अवस्था आएको उनले बताए । गुणस्तरी र भरपर्दो सडक नहुँदा व्यापारीहरू मारमा परेको उनले बताए ।

रसुगागढी नाका बन्द हुँदा तातोपानीबाट सामान आयात गर्न सकिने भए पनि सडकका कारण ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।

२०७२ को भूकम्प अघि तातोपानी चीनसँगको मुख्य व्यापरिक नाका रहेको थियो । त्यसपछि खण्डहर बनेको तातोपानी विगत २ वर्ष यता क्रमशः लयमा फर्किन थालेको छ ।


Back_to_top