काठमाडौं । कोभिड १९ को कारण सन् २०२० र २०२१ मा नाडा अटो शो आयोजना हुन सकेन । सन् २०२१ को फागुनमा नाडा अटो शो आयोजना गर्ने प्रयास आयोजकले गरेपनि प्रदर्शनीमा भाग लिन अटोमोबाइल ब्राण्डहरु तयार नभएपछि हुन सकेन । अब आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२२’ आयोजना गर्ने तयारी भएको छ ।
विगतलाई हेर्ने हो भने सेयर बजार र घरजग्गाको कारोबार बढेको समयमा गाडीको विक्रीले नयाँ उचाई बनाउन सफल हुँदै आएको छ ।
आयोजक नाडा र संयोजन गर्ने ग्लोबल एक्सपोजिसनले स्टल बुकिङ, स्लट अलर्टमेन्ट जस्ता काम सम्पन्न गरिसकेको छ । यसपटक लामो अन्तरालमा अटो शो आयोजना हुन लागेको कारण ब्यवसायीले उत्साहित भएर स्टल बुकिङ गरेका छन् भने बजारमा देखिएको आर्थिक मन्दीले उनिहरुलाई सताइरहेको छ ।
‘एउटा अटो शोमा भाग लिँदा कम्तीमा ६० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च हुन्छ । स्टल बुकिङ पनि गरिएको छ । तर, सरकारले साउनबाट आयात नखोल्ने हो भने अटो शोमा देखाउने गाडीसमेत हुन्न’, एक गाडी विक्रेताले मेरोअटोसँग भने ।
यो संसय सबै ब्यवसायीहरुको मनमा रहेको छ । अटो शो तयारी नगरौं गाडी खुल्ला, नयाँ गाडी आउला । गरौं खर्च हुन्छ, गाडी आएन भने त्यतिकै खेर जान्छ । यस्तो दुविधामा ब्यवसायीहरु रहनुले नाडा अटो शो २०२२ कार विक्रेताहरुको लागि शंकाको घेरामा पर्ने देखिन्छ । यद्यपि, विद्युतीय गाडी हुनेहरुको लागि भने फरक पर्ने छैन । मोटरसाइकल, पार्टस् र यस पटकबाट समेटिएको कमर्शियल सेग्मेन्ट भने नाडामा सहभागि हुन निकै उत्साहित रहेका छन् ।
विगत ६ महिनादेखि बजारमा लगानी योग्य रकमको अभावमा बैंकहरुले गाडी किन्ने ग्राहकलाई कर्जा दिन सकेका छैनन् । दिदा पनि ब्याजदर १५ प्रतिशतसम्म लगाउन थालिएको छ । यस्तो विषम परिस्थितिमा ब्यवसाय गर्ने सबै एक किसिमले डराएका छन् । अन्तर्राष्ट्रिय बजारमा बढ्दो पेट्रोलियम पदार्थकको मूल्य, विश्वभर देखिदै गएको खाद्यय संकट, नेपालमा आएको वैदेशिक मुद्राको कमी, बढ्दो मूल्य वृद्धि जस्ता कारण आम नागरिकमा देखिएको त्रासको बातावरणले पनि गाडीको ब्यापारमा निकै कमी ल्याएको छ ।
कमजोर अर्थतन्त्रको बाबजुद गाडी सम्बन्धी कुनै किसिमका गतिविधि दुई वर्षदेखि हुन नसकेको समयमा अटो शो हुनुले एउटा रौनक ल्याउने उनिहरुको बुझाई छ ।
नेपालको विगतलाई हेर्ने हो भने सेयर बजार र घरजग्गाको कारोबार बढेको समयमा गाडीको विक्रीले नयाँ उचाई बनाउन सफल हुँदै आएको छ । सन् २०२१ मा २० हजार यूनिट कार विक्री हुनुमा सेयर बजारमा भएको ठूलो कारोबार मुख्य कारण रहेको बुझ्न सकिन्छ ।
वैदेशिक मुद्रामा आएको कमीको कारण सरकारले असार मसान्तसम्मको लागि पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि गाडीको आयात पूर्णत रोक लगाएको छ । जसको कारण बैशाखदेखि कुनै पनि गाडीको लागि एलसी खुलेको छैन । यद्यपि, चैतसम्म खुलेका एलसीबाट गाडी आयात भने निरन्तर भइरहेको छ । तर, अब एलसी खुलेका धेरै गाडी आउन बाँकी नरहेको ब्यवसायीहरु बताउन थालेका छन् ।
यस्तोमा नाडा अटो शो २०२२ माथि ब्यवसायीले डराई डराई तयारी थालेका छन् । तर, कमजोर अर्थतन्त्रको बाबजुद गाडी सम्बन्धी कुनै किसिमका गतिविधि दुई वर्षदेखि हुन नसकेको समयमा अटो शो हुनुले एउटा रौनक ल्याउने उनिहरुको बुझाई छ । तत्काल गाडीको किनबेचमा ठूलो परिणाम दिन नसकेपनि गाडी प्रति मानिसको चासो जगाइराख्न पनि अटो शो २०२२ ले सहयोग गर्ने देखिन्छ ।
अटो शो २०२२ निकै कठिन समयमा हुन लागेको बताउँदै अटो शो संयोजक अनुप बराल भन्छन्, ‘हामी अटोमोबाइल ब्यवसायलाई चलायमान राख्न काम गर्छौ, तीन वर्षपछि अटो शो हुन लागेकाले यसले दिने सन्देश निकै बलियो हुन्छ । यसपटक अटोमोबाइल क्षेत्रका धेरै विषयमा वृहत छलफल गर्ने कार्यक्रम रहेको कारण यसले समग्र व्यवसायलाई नै फाइदा पुग्छ ।’


