नागढुंगा-नौबिसे सडक निर्माण अन्तिम चरणमा, ८५ प्रतिशत सकियो काम

काठमाडौं । नागढुंगा-मुग्लिन सडक आयोजना अन्तर्गत नागढुंगा-नौबिसे सडक (पहिलोखण्ड) निर्माण अन्तिम चरणमा पुगेको छ ।

३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०७९ जेठदेखि काम थालिएको १२.२६ किलोमिटर सडकको हालस्म्म भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।

यो सडक विश्व बैंकको सहुलियतपूर्ण ऋणमा स्तरोन्नति भइरहेको हो । नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वीखण्ड)का प्रमुख केशवप्रसाद ओझाले नागढुंगा-नौबिसे सडकको दोस्रो तहको कालोपत्र सकिएको बताए ।

उनका अनुसार अब तेस्रो तहको कालोपत्र र आकाशे पुल निर्माण गर्न बाँकी छ । कालोपत्र सकिएपछि सडक सुरक्षाका मापदण्ड र रङरोगनको काम सुरु हुने उनले बताए ।

‘नागढुंगा-नौबिसे सडक विस्तार अन्तिम चरणमा पुगेको छ । दोस्रो तहका कालोपत्र सकियो । अब चाँडै तेस्रो तहको कालोपत्र सुरु हुन्छ,’ उनले भने ।

घरटहरा विवादका कारण खानीखोला क्षेत्रमा आकाशे पुल निर्माण भने केही ढिलाइ भएको उनले बताए । अहिले स्थानीयको समस्या  समाधान भइसकेकाले अब चाँडै कामले गति लिने उनको भनाइ छ ।

यो खण्डको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा एमएस जियाङसु/सगुन जेभीले पाएको छ । कम्पनीसँग २०७८ चैत २९ गते ठेक्का स्म्झौता गरिएको थियो भने २०७९ जेठ २६ देखि काम थालेको थियो ।

सम्झौता अनुसार २०८१ जेठ २७ गते भित्र काम नसकिएपछि पहिलोपटक २०८१ माघसम्म म्याद थपिएको थियो । उक्त अवधिमा काम नसकिएपछि दोस्रो पटक २०८२ साउन १० गतेसम्म म्याद थपिएको थियो । सो अवधिमा पनि काम नसकिएपछि अन्तिमपटक यही फागुन मसान्तसम्म म्याद थपिएको छ ।

९५ किलोमिटर लामो नागढुंगा-मुग्लिन सडक ३ खण्डमा ठेक्का लगाई विस्तारको क्रममा छ । जसमा ४३.५४ किलोमिटर नौबिसे-मलेखु (दोस्रो खण्ड) र ४० किलोमिटर मलेखु-मुग्लिन (तेस्रो खण्ड)को काम भने निकै सुस्त छ । दोस्रो खण्डको हालसम्म करिब ५८ प्रतिशत र तेस्रो खण्डको ४० प्रतिशत काम सकिएको छ ।

दोस्रो खण्डको ठेक्का शर्मा/लामा/जेडआइसीजी जेभीले ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा र तेस्रो खण्डको ठेक्का शर्मा/जेडआईसीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा पाएको छ ।


Back_to_top