काठमाडौं । नाडा अटो शो २०२५ बाट नेपाली बजारमा प्रवेश गरेको नामीको पहिलो एसयूभी भिगो अहिले धमाधम बिक्री भइरहेको मोडल हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध कम मूल्यको एसयूभी भएकै कारण धेरैले यसलाई छान्न थालेका हुन् ।
हेर्दा बक्सी डिजाइन लाग्ने एसयूभी विद्युतीय भएको कारण चलाउँदा कम्प्याक कार चालाएको अनुभूति दिने खालको छ । यसमा प्रयोग भएको अगाडि र पछाडिको बम्परले पुरै अफरोड एसयूभीको झल्को दिन्छ । लुकिङ ग्लास पनि अफरोड एसयूभीबाट प्रेरित छ । ह्वील आर्क र बडी क्लाडिङ पनि पर्पर अफरोड एसयूभीको भन्दा कम छैन । अझ, पछाडिको ढोकालाई दिइएको ‘हेभेन एण्ड अर्थ’ निकै अर्थपूर्ण लाग्छ ।
यस्तो गाडी किन्न भेरियन्ट अनुसार पैसा भने ई टु र ई टु प्लसको मूल्य क्रमशः ३८ लाख ९९ हजार र ४१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । सुरूवाती दिनमा दुवै भेरियन्टमा कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिएको थियो ।
कम्पनीको मूल्य अनुसार मासिक ३५ हजार ३०० रुपैयाँ किस्ता तिर्नेगरी अहिले भिगो ई टु भेरियन्ट खरिद गर्न सकिन्छ । बैंक तथा बित्तीय संस्थाले ७ प्रतिशत ब्याजदरमै अटोकर्जा दिइरहेको र ७ वर्ष भित्र तिर्नेगरी कर्जा सुविधा लिँदा मूल्यको ४० प्रतिशतले हुन आउने १५ लाख ५९ हजार ६०० रुपैयाँ भने डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ ।

नामी भिगो अहिले नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी हो । मूल्य कम भएपनि यसमा के के फिचर छन् भन्ने विषयमा तल चर्चा गरिएको छ ।
क्याबिन फिचर
नामी भिगो एसयूभी स्टेरिङ, सिट, ड्यासबोर्ड, गियरनब, इन्फोटेन्टमेन्ट सिस्टम, इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता उपभोक्ताले धेरै चासो राख्ने फिचरहरू स्मार्ट छन् । क्याबिन फिचरमा नामीले आफ्नो छुट्टै परिचय स्थापित हुनेगरी काम गरेको छ ।
एसीमा पनि न्याभ, रेस्ट र स्नो मोड दिइएको छ । भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले, उच्च गुणस्तरको ३६० डिग्री क्यामेरा दिइएको छ ।
इन्टेरियरमा ५० वाटको वायरलेस चार्जर, पानारोमिक शनरुफ, वान टच रियर सिट फोल्ड पाउन सकिन्छ । अगाडिका दुई सिटलाई बेडकै रूपमा तयार गर्न सकिन्छ ।

यस्ता छन् मुख्य फिचर ?
नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । १६७ किलोवाटको डीसी फास्ट चार्जर यसले सपोर्ट गर्नेछ । यसमा बाहिर पनि स्पीकर छ ।
एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । वेलकम साउण्ड, १८ इन्चको ह्वील, अटोमेटिक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ ।
कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ । एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचरले चालकलाई लोभ्याउँछ । बाहिर टी आकारमा सजिएको एलईडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ ।
साइज
नामी भिगोको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस छ । यसमा थ्री लेयर डिजाइनमा बुट स्पेश छ । जसको समग्र साइज ५०० लिटर हो ।

ब्याट्री र मोटर
दुई ब्याट्री अप्सनमा आएको एसयूभीमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपी टेस्टले देखाएको छ ।
ह्याण्डलिङ निकै सहज भएको भिगोमा दिइएको ९९ किलोवाटको मोटरको पावर राम्रो लाग्छ । निकै हल्का साइजको गाडी चलाएको भान हुने नामी भिगो एसयूभी नेपालका धेरै किसिमका बाटाहरूमा सहजै चलाउन सकिने र आरामदायी यात्रा गर्न सकिने किसिमको छ ।

तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।
सुरक्षा फिचर
यसमा ६ एयरब्याग, एडास र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरको कारण एसयूभी सुरक्षित बनाएको छ ।

