काठमाडौं । सरकारले थापाथलीदेखि जयनेपाल हलसम्मको सडक खण्डलाई नमूना सडक बनाउने योजना अगाडि सारेको छ । उक्त योजनाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभागमा पत्र बुझाइसकेको जानकारी दिएको छ ।
महाशाखाकाअनुसार थापाथलीदेखि जयनेपाल हलसम्मको सडकको लागि आवश्यक सामग्रीको लिष्टसहित सडक विभागलाई पत्र पठाएको महाशाखाका एसएसपी बसन्त कुमार पन्तले जानकारी दिए ।
‘हामीले सडकलाई नमुना बनाउन आवश्यक बस्तु, रोडलाई फनिसिङ्ग गर्न आवस्यक सामाग्रीदेखि ट्राफिक–लाइटलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा सडक विभागलाई पत्र लेखेका छौं । अब विभागले के निर्णय लिन्छ, त्यसमा भर पर्छ,’ पन्तले मेरोअटोसँग भने ।
गत मंसिर १६ गते भएको विकास समितिको बैठकले ट्राफिक महाशाखालाई नमूना सडक निर्माणका लागि निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार महाशाखाले सडक विभागमा नमूना सडक निर्माणका लागि पत्राचार गरेको हो ।
ट्राफिक व्यवस्थापन र सम्पूर्ण संरचना निर्माणका लागि आवश्यक पर्ने सबै डिटेल महाशाखाले सडक विभागलाई लिखितरुपमा बुझाइसकेको पन्तले दाबी गरे । अब विभागले स्विकृत गरेपछि मात्रै निर्माण प्रकृया अगाडि बढ्ने महाशाखाले जनाएको छ ।
यता, सडक विभागका प्रवक्ता मुक्ति गौतमले विभागमा अहिलेसम्म पत्र आइनपुगेको जानकारी दिएका छन् ।
‘अहिले नमुना सडक सम्बनधमा कुनै पत्र आएको छैन, पत्र आएपछि अध्यन गरेर विभागले निर्णय लिन्छ’ गौतमले भने ।

