काठमाडौं । टाटा नेक्सन म्याक्स किन्ने ग्राहकले ९ लाख २९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी घर लान पाउने छन् । सिप्रदीले नेक्सन म्याक्सको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ, त्यसको २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जा सुविधा लिन पाइन्छ ।
नयाँ नेक्सन म्याक्स २० प्रतिशत डाउन पेमेनट गरेर बाँकी रकम ३७ लाख १९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्छ । अहिले ईभीलाई १३ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्ष भित्र तिर्दा मासिक ६७ हजार ६६० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
सिप्रदी ट्रेडिङले लङ रेन्ज भएको नेक्सन म्याक्स ईभी १०० किलोवाट क्षमताको मोटरमा ल्याएर विक्री सुरु गरेको हो । कम्पनीले म्याक्स मोडलको विक्रीसँगै विद्युतीय एसयूभीले नयाँ आयाम थप्ने विश्वास लिएको जनाएको छ ।
‘हामी ग्राहकलाई गाडी मात्रै विक्री गर्दैनौं, उहाँको विश्वास र भरोसामा खरो उत्रन काम गर्छौ’, सिप्रदीका कार्यकारी चेयरम्यान सिद्धार्थ राणले भने ।

अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो । टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।
नेक्सन म्याक्समा प्राइम मोडलको भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि छन् ।
त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।


