काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडलको बिक्री सुरु गरेको छ । कम्पनीले सुरुवाती मूल्य ४६ लाख ४९ हजार कायम गरेर बिक्री सुरु गरेको हो ।
कम्पनीले ल्याएको नेक्सन म्याक्समा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । टाटाले भारतमा भने १०५ किलोवाट क्षमताको मोटरमा बिक्री गर्दै आएको छ ।
अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो । टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ ।
नेक्सन म्याक्समा प्राइम मोडलको भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि छन् ।
त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।

