काठमाडौं । फोर्डको आधिकारीक विक्रेता जिओ फोर्डले रेन्जर पीकअपको नयाँ अपग्रेड भर्सन नेपालमा विक्री सुरु गरेको छ । विगत लामो समयदेखि नेपालमा विक्री हुँदै आएको रेन्जरको नेक्सट जेनेरेशन मोडल नेपाल आएको हो ।
अमेरिकी कार निर्माता फोर्ड मोटर्स पीकअप ट्रक उत्पादनमा अग्रणी कम्पनी मानिन्छ । नेपालमा जिओ फोर्डले थाइल्याण्डमा उत्पादन भएका पीकअप रेन्जर र र्याप्टर विगतदेखि नै विक्री वितरण गर्दै आइरहेको छ ।
फोर्डले नेक्ट जेनेरेशन रेन्जर हिजो एक कार्यक्रम आयोजना गरी नेपालमा सार्वजनिक गरेको हो । टेष्ट ड्राइभ इभेन्ट आयोजना गर्दै सार्वजनिक गरिएको नयाँ रेन्जर पुरानोको तुलनामा निकै उत्कृष्ट रहेको छ ।
वाई टर्बो २.० लिटर क्षमताको डिजेल इन्जिन नयाँ रेन्जरमा उपलब्ध रहेको छ । यसअघि विक्री हुँदै आएको रेन्जरमा ३.२ लिटर क्षमताको इन्जिन थियो । टुईन टर्बो इन्जिन भएको कारण नयाँ रेन्जर निकै पावरफुल छ । साथै, इन्जिनको आवाज अत्यन्त न्यून रहेको छ ।
आवाज रहित क्याविनको कारण यसमा बस्दा कुनै लग्जरी एसयूभीमा बसेको अनुभव गर्न पाइन्छ । अहिले जिओ फोर्डले १ करोड ५ लाख ९० हजार मूल्यको एक्सएल, १ करोड १९ लाख ९० हजार र टप भेरियन्ट डब्लूटीआरके वाइल्डट्रेक भेरियन्टको १ करोड ४५ लाख ९० हजार रुपैयाँ तोकेर विक्री सुरु भएको हो ।
पहिलेको तुलनामा नेक्सट जेनेरेशन मोडल ‘लाइफ स्टाइल प्रोडक्ट’को रुपमा बजारमा आएको छ । कम्पनीले यसमा १९९६ सीसी क्षमताको इन्जिन दिएको छ । भेरियन्ट अनुसार पावर भने फरक रहेको छ । एक्सएल भेरियन्टमा अधिकतम १७० पीएस पावर र ४०५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी एक्सएलटी र वाइल्डट्रेक भेरियन्टमा रहेको इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । एक्सएल भेरियन्ट ६ स्पीड म्यानुयल र अटोमेटीक गियरबक्समा उपलब्ध छ भने अन्य दुई भेरियन्टमा १० स्पीड अटोमेटीक गियरबक्स उपलब्ध छ ।
फोर्डको नयाँ रेन्जर फिचर र सुरक्षाको हिसावले उत्कृष्ट रहेको छ ।

