काठमाडौं । निसान-डाट्सनको नेपालको लागि आधिकारीक वितरक पायोनियर मोटोकर्पले कोभिड १९ को कारण लकडाउन केही खुकुलो भएसँगै नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफरमा सन् २०२० मा डाट्सनको कार किन्नेले २०२१ बाट किस्ता तिर्दा हुने उल्लेख छ ।
कम्पनीले ल्याएको अफरमा अहिले गाडी किन्ने ग्राहकले मासिक किस्ता ६ महिना पछिबाट मात्र तिर्नु पर्ने हुन्छ । उक्त अवधिसम्म कम्पनीले कुनै किसिमको व्याज नलिने जनाएको छ ।
यसका अलावा ३ वर्षको वारेन्टि र सर्भिसिङ निःशुल्क अफर गरिएको छ भने, एक वर्षको सडक दस्तुर र एक वर्षको बीमा पनि कम्पनीले दिने जनाएको छ । साथै, निःशुल्क एसोसरिज प्रदान गर्ने जनाएको छ ।

उक्त अफरमा गाडी किन्न चाहने व्यक्तिगत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट र संस्थागत ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । त्यसपछि गाडीको तिर्नु पर्ने मासिक किस्ता वापतको रकम ६ महिनासम्म बिक्रेता कम्पनीले नै तिर्नेगरि यो अफर सार्वजनिक गरेको हो ।
डाउन पेमेन्ट गर्न रकम अभाव भएका ग्राहकले पनि ३० प्रतिशत सुरुमा र बाँकी २० प्रतिशतलाई ४ महिना भित्र पुरा गर्नेगरि समेत गाडी किन्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर डाट्सनको सबै मोडलमा र निसानको किक्समा मात्रै लागु हुने कम्पनीले जनाएको छ । डाट्सनमा भने थप ७५ हजार नगद छुटको समेत व्यवस्था गरिएको छ ।
डाट्सनको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ भने निसान किक्सको मूल्य ४८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।
समग्रमा निसान किक्समा ५ लाख रुपैयाँ र डाट्सनमा ३ लाख रुपैयाँ बराबरको छुट ग्राहकले पाउने कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले जानकारी दिए ।

