ओमोडाको ‘वेटिङ क्यान बी फन’ कार्यक्रम, बढ्ने भयो मूल्य

काठमाडौं । एसपीजी अटोमोवाइलले अनौठो किसिमको मार्केटिङ टुल्सको प्रयोग गरेको छ । फेब्रुअरीदेखि गाडी बुकिङ गरेर बसेका ग्राहकलाई लक्षित गर्दै ‘वेटिङ क्यान बी फन’ कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीले आफ्नो उत्तरढोकामा रहेको शोरुममा विशेष कार्यक्रम आयोजना गरेर बुकिङ गरेर बसेका ग्राहकसँग अन्तक्र्रिया गरेको थियो । साथै, कार्यक्रममा स्ट्याण्डअप कमेडी, बास्केटबल, फुटसल लगायतका गतिविधि गराएको थियो ।

ओमोडा ई-५ फेब्रुअरीको सुरुवातमै बुकिङ खुल्ला गरेको कम्पनीले राम्रो संख्यामा बुकिङ पाएको बताइन्छ । मूल्य र फिचरको आधारमा बीवाइडी एटो-थ्रीसँग सिधा प्रतिस्पर्धा गर्ने ई-५ केही दिन भित्रै काठमाडौं आइपुग्ने कम्पनीले जनाएको छ ।

‘भन्सार नाकामा गाडी आइपुगेको छ । दुई दिन भित्रै भन्सारबाट छुट्न थाल्छन् । यहि साताको अन्तिमबाट ग्राहकलाई डेलिभरी सुरु गर्दैछौं’, एसपीजी अटोमोवाइलका प्रबन्ध निर्देशक गौरव सारडाले मेरोअटोसँग भने ।

२ लाख ५० हजारले मूल्य बढ्ने

अहिले ई-५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, कम्पनीले चाँडै लागु हुनेगरी मूल्य बढाउन लागेको जनाएको छ ।

नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले प्रकाशित गरेको खुद्रा मूल्य सूचीमा ओमोडा ई-५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरिएको छ । यस विषयमा चाँडै मूल्य बढ्न लागेको कम्पनीले जनाएको छ ।

‘हामीले सुरुमै इन्टोडक्टरी प्राइस भनेका थियौं । अहिले मूल्य बढाउने निधो भइसकेको छ । त्यसैले प्रकाशित भएको हो । गाडी नेपाल आइपुगेर गाडी बिक्री थालेसँगै नयाँ मूल्य लागु हुनेछ’, सारडाले भने ।

ब्लेड ब्याट्री र रेन्ज

यसअघि बीवाइडीको गाडीमा मात्रै उपलब्ध ब्लेड टेक्नोलोजीको ब्याट्री ई-५ मा पनि उपलब्ध छ । यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीलाई सिंगलमा ४३० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

पावर र ग्राउन्ड क्लियरेन्स

ई-५मा ९९ किलोवाटको मोटर दिइएको छ । यसको लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने १८० एमएम रहेको कम्पनीको दावी छ ।

सुरक्षा फिचर

ओमोडाले ई-५ मा सुरक्षाको लागि ६ वटा एयरव्याग दिएको छ । साथै, एडास फिचर भित्र पर्ने १७ फिचर पनि ग्राहकले यसमा पाउने छन् । ई-५ मा ५४० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् ।


Back_to_top