फोहोर बोकेको ट्रकको ठक्करबाट स्थानीयको ज्यान गएपछि पासाङल्हामु राजमार्ग बन्द

फोहोर बोकेको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको छ ।

बिहान करिब ५ बजेतिर ककनि गाउँपालिका १ महालक्ष्मीस्थानमा फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रकलको ठक्करबाट ४९ वर्षीय पदम बलामीको ज्यान गएपछि ओखरपौवा तनावग्रस्त बनेको हो ।

स्थानीयले दुवैतर्फका गाडी रोकेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको ओखरपौवा  प्रहरी चौकीले जनाएको छ ।

स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने दुवैतर्फका सवारी लामो जाममा फसेका छन् ।

ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर राउतले दुई पक्षलाई राखेर समाधान खोज्ने प्रयासमा प्रहरी लागेको जानकारी दिए ।

घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ । काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।

उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ ।


Back_to_top