काठमाडौं । सामान र मानिस दुबै बोक्न मिल्ने पीकअप नेपालमा निकै राम्रो संख्यामा आयत हुन थालेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मै ४ हजार ६ सय ८ यूनिट पीकअप आयत भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
साउनदेखि मंसिर मसान्तसम्ममा आयत भएको पीकअपमा सिंगल क्याबको संख्या धेरै रहेको छ । विशेषत मालसामान ढुवानीको लागि प्रयोग हुने सिंगल क्याव ३ हजार १ सय ८ यूनिट आयात भएको छ । त्यसैगरी प्यासेन्जर र कर्गो दुबै बोक्न मिल्ने डबल क्याब पीकअप १ हजार ५ सय यूनिट आयात भएको देखिन्छ ।
सिंगल क्याब पीकअप सहरी क्षेत्र भित्र सामानहरु ओसार प्रसारमा प्रयोग हुने गर्छन् । नेपाली बजारमा महिन्द्रा, टाटा, फोर्स र इसुजुले सिंगल क्याब पीकअप आयात र विक्री गर्दै आएका छन् ।
सिंगल क्याव पीकअपमा सबैभन्दा ठूलो बजार हिस्सा महिन्द्रा बोलेरेको छ । त्यस्तै पछिल्लो समयमा विकट पहाडी क्षेत्रहरुमा नयाँ नयाँ बाटोहरु निर्माण भइरहेकाले ५ जनासम्म यात्रु बस्न मिल्ने र सामान पनि बोक्न मिल्ने भएकाले डबल क्याव पीकअपको विक्री बढ्दै गएको हो ।
विकट क्षेत्रहरुमा हाइड्रो पावर पोजेक्टहरु धेरै निर्माण भइरहेका छन् । उनिहरुले धेरैजसो डबल क्याब पीकअप प्रयोग गर्ने गरेका छन् । नेपालमा टोयोटा, महिन्द्र, निसान, मित्शुवीसी, फोर्ड, फोटोन, इसुजु जस्ता कम्पनीले डबल क्याव पीकअप राम्रो संख्यामा विक्री गर्दै आएका छन् ।
पछिल्ला केही महिनामा ग्रेटवाल माटर्स, चांगन जेएसी जस्ता ब्राण्डले पनि डबल क्याब पीकअप आयात हुन थालेका छन् ।
चालु आर्थिक वर्षको ५ महिनामा आयत भएका पीअकप ३ अर्ब ९२ करोड ८३ लाख मूल्य बराबरको हो । उक्त आयात मार्फत नेपाल सरकारले विभिन्न शिर्षकमा ५ अर्ब २४ करोड ९६ लाख ४९ हजार राजस्व संकलन गरेको छ ।

