काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालनमा ल्याएको छ ।
यातायात व्यवसायीहरूले सार्वजनिक यातायत बन्द गरेपछि यात्रुको सुविधाका लागि प्रहरीले उपत्यकामा २ वटा बस संचालनमा ल्याएको हो ।
प्रहरीका अनुसार दुई वटा बस छुट्टाछुट्टै रूटमा चल्नेछन्।
रुट नं. १ अन्तर्गत चल्ने बस नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनस् नक्साल घुम्नेछ।
त्यस्तै, रुट नं. २ मा चल्ने बस नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।
यी दुवै रुटमा चल्ने बसमा यात्रुले भाडा तिर्नुपर्दैन । यसले अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन सहयोग पुग्ने प्रहरीको भनाइ छ ।


