नयाँ राजमार्गमा चौकी राख्ने तयारी

रसुवा । स्याफ्रुबेँसी-मैलुङखण्डको राजमार्ग निर्माण भएसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जले नयाँ राजमार्गमा जाँच चौकी स्थापना गर्ने तयारी गरेको छ । 

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार स्याफ्रुबेँसीबाट मैलुङसम्मको दूरीमा नयाँ सडक निर्माण भई अब नदी किनारबाट यातायात सञ्चालन हुने तयारी भएकाले निकुञ्ज क्षेत्रको अवैध कारोवार रोक्न जाँच चौकी स्थापना गर्न लागिएको हो । 

अधिकांश भूभाग भिरपहराको क्षेत्र र पर्न सक्ने समस्यालाई दृष्टिगत गरी उपयुक्त स्थानको व्यवस्थापन कार्य अगाडि बढिसकेको रेञ्जर बस्नेतले बताए । 

नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने स्याफ्रुबेँसी-मैलुङ डबल लेनको १७ किमी सडकको निर्माण कार्य सम्पन्न भई गत चैत ३० गते नै स्थानीय पत्रकारलाई अनुगमन गराई सडक निर्माणको सन्देश प्रवाह गरिसकेको मैलुङ-स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले जनाएको छ । 

गल्छीदेखि बेत्रावती धुञ्चेतर्फ भइराखेको सडकभन्दा बेत्रावती-मैलुङ-रसुवागढी नयाँमार्गले २५ किमी दूरी कम गराएको र अब गल्छी-रसुवागढीसम्मको दूरी ८१ किमीमात्र हुने सडक निर्माणका प्राविधिकले जनाएका छन । विसं २०७२ साल वैशाखदेखि शुरु भएको उक्त डबल लेनको सडक सरकारले तोकेको समयसीमाभित्र सम्पन्न गरेको कार्यदलले जनाएको छ । 

नेपाल-चीनको व्यापार व्यवसाय रसुवागढी नाकाबाट सञ्चालन हुनाले रसुवा जिल्लाको मुहार फेरिएको वरिष्ठ समाजसेवी दावा फिन्जो तामाङले बताए ।  


Back_to_top