काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गर्ने तयारी गरेको छ । भाडा समायोजनको विषयमा यातायात व्यवस्था विभागले सरोकारवालाहरुसँग छलफल गरि रहेको छ । ट्याक्सीदेखि लामो तथा छोटो दूरीसम्मका सार्वजनिक सवारीको भाडा समायोजन हुने भएको हो ।
सार्वजनिक सवारीको भाडा २०७२ माघयता समायोजन भएको छैन । २०६५ मा सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गर्न बैज्ञानिक भाडा निर्धारण मापदण्ड लागु गरेको थियो । उक्त मापदण्डमा ३५ प्रतिशत भार इन्धनको र ६५ प्रतिशत मूल्य वृद्धिलगायतको भार हुने व्यवस्था रहेको छ ।
सरकारले हरेक वर्ष भाडा समायोजन गर्ने गरि उक्त मापदण्ड लागु गरेको भएपनि २०७२ माघपछि सार्वजनिक सवारीको भाडा समायोजन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
‘४ वर्षदेखि सार्वजनिक सवारीको भाडा समायोजन भएको छैन । मूलय वृद्धि २०७२ को तुलनामा कहाँ पुग्यो,’ उनले भने, ‘सरकारले हरेक वर्ष भाडा समायोजन गर्नु पर्ने हो । तर त्यसो नगर्दा व्यवसायीहरु मारमा परेका छन् ।’
लामो समयदेखि सर्वाजनिक सवारीको भाडा समायोजन नभएकाले सरोकारवालासँग सलफल गरेर भाडा समायोजन गर्न लागिएको विभागका एक अधिकारीले जानकारी दिए । व्यवसायीलगायतसँग आज (बिहिबार) पनि घलफल भएकाले सम्भवत आज भाडा समायोजनको सिफारिस हुन सक्ने ती अधिकारीको भनाई छ ।
सवारीसाधनमा प्रयोग हुने स्पेयर पार्टसदेखि कर्मचारीको सेवा सुविधा तथा मूल्य वृद्धि कहाँबाट कहाँ पुगिसक्यो तर सरकारले भने यातायात व्यवसायीलाई निरुत्साहित गर्न उद्दत रहेको सिटौलाको भनाई छ ।
यो पटक सार्वजनिक सवारीको भाडा २ देखि ५ प्रतिशतसम्म समायोजन हुने अनुमान गरिएको छ । तराई क्षत्रे र पहाडी क्षेत्रमा भाडा समायोजन विभन्दा भिन्दै दरमा हुँदै आएको छ । त्यसस्तै मिटर ट्याक्सीको भाडा समेत समायोजन हुनेछ ।

