काठमाडौं । टाटा मोटर्सको पछिल्लो ईभी पन्च नाडा अटो शोबाट बिक्री सुरू हुँदैछ । सिप्रदी ट्रेडिङले बिहीबार पन्च ईभीको मिडिया टेस्ट ड्राइभ र ईभी डेडिकेटेड सर्भिस सेन्टर कपनको उद्घाटन एकसाथ गरेको हो ।
कम्पनीले बनाएको सर्भिस सेन्टरमा १२ वटा सर्भिस वे रहेको छ । सर्भिस सेन्टरमा प्राविधिकहरूलाई इलेक्ट्रीक भेहिकल सर्भिसका लागि तालिम दिएर दक्ष बनाएको कम्पनीले जनाएको छ ।
करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टर धोबिखोला किनारमै रहेको करिडोरको बाटोबाट पुग्नसमेत सहज रहेको छ । यो सर्भिस सेन्टरबाट दैनिक रूपमा ४० वटा ईभीलाई सर्भिस दिन सकिने कम्पनीले बताएको छ ।

सर्भिस सेन्टर उद्घाटनसँगै पन्च ईभी टेष्ट ड्राइभ आयोजना भएको थियो । पछिल्लो समय भारतीय बजारमा तहल्का मच्चाएको टाटा पन्च एक छरितो ईभी हो । टाटाले डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’मा बनाएको पहिलो मोडल पन्चको पफर्मेन्स राम्रो छ ।
पर्सनल कार सेग्मेन्टमा पर्फेक्ट साइज तथा उत्कृष्ट ग्राउण्ड क्लियरेन्स भएकाले यो ईभी वर्किङ क्लासका लागि राम्रो अप्सन हो । अगाडि कनेक्टेड एलईडी डीआरएल, स्प्लीट हेडलाइट तथा मस्कुलर बडी सेपले गाडीको फस्ट लुक्स एकदमै आकर्षक देखिन्छ ।
हामीले कपन क्षेत्रमा केही किलोमिटर पन्च चलाउँदा कम्प्याक्ट एसयूभीको फिल पाएका थियौं । नयाँ डिजाइनको टु स्पोक फ्ल्याट बटम स्पोर्टी स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्क्रीन तथा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका साथै लेदरेट सिट कभरले यसको फस्ट इम्प्रेसन नै प्रिमियम देखिन्छ ।
पन्चमा अर्को मनपरेको फिचर भेन्टिलेटेड सिट हो । यो गर्मीमा एसी जतिसुकै चिसो बनाएर चलाए पनि गाडीमा बस्दा सिटको तातोले पछाडि भागमा पसिना आउँछ । तर, पन्चमा भएको भेन्टिलेटेड सिटका कारण त्यस्तो समस्या हुँदैन । गाडीमा चारै तिर क्यामरा छन् । यसमा रहेको ३६० डिग्री क्यामेराको सहयोगले जस्तोसुकै साँघुरो बाटोमा पनि यसलाई चलाउन र पार्किङ गर्न सहज हुन्छ ।

यसको सेन्टर कन्सोलमा दिएको रोटरी गियर सेलेक्टर, इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड प्रयोग गर्न एकदमै सहज छ । माइक्रो एसयूभी सेग्मेन्टमा बने पनि सनरुफ दिइएको कारण उत्कृष्ट लाग्छ । अझ भ्वाइस कमाण्डबाटै सनरुफ खोल्न र बन्द गर्न सकिन्छ ।
यसको पछाडि पनि ठूलो स्थान छ । आर्मरेष्ट सहितको सिट छ भने, रियर एसी भेन्ट छैन । तर, अगाडिकै ब्लोअरले पछाडिसम्म चिसो बनाउन सक्ने रहेछ ।
पन्च ईभीमा १६ इन्चको ह्वील, १९० एमएमको ग्राउण्ड क्लियरेन्स तथा ठूलो एसयूभीहरूको जस्तै ९० किलोवाटको मोटर छ । ठूलो मोटर भएको कारण चलाउन पनि निकै रमाइलो लाग्छ । इको मोडमै चलाउँदा पनि ओभरटेक गर्न एकदमै कन्फिडेन्ट आउँदो रहेछ । बढी पावर चाहिएमा स्पोर्ट्स मोड छँदैछ ।

२७० देखि ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ । हामीले थोरै किलोमिटर मात्र चलाएकाले यसको रेन्ज यति नै दिन्छ भन्न सकेनौं ।
कम्पनीले यो ईभीको मूल्य आगामी नाडा अटो शोमा घोषणा गर्ने जनाएको छ । कम्पनीले मूल्य घोषणा गरेसँगै बजारमा अन्य मोडलसँगको प्रतिस्पर्धा रोचक हुनेछ ।

