निकै सस्तो मूल्यमा आयो रेडारा पीकअप

काठमाडौं । चिनियाँ कम्पनी जिलीले रेडारा पीकअपमा नयाँ मोडल ‘किङ कङ’ सार्वजनिक गरेको छ । चीनमा १३ हजार ७०० अमेरिकी डलर सुरुवाती मूल्यसहित आएको इलेक्ट्रीक पीकअप मूल्यका हिसावले निकै सस्तो मोडल हो ।

यसअघि नेपालमा पनि बिक्री हुँदै आएको आरडी-६ को विकल्पमा आएको ‘किङ कङ’ यसअघिको आरडी-६ को तुलनामा ५ हजार १०० डलर सस्तो मूल्य तोकिएको हो । यसअघि १८ हजार ७५० देखि २८ हजार ७५० डलरसम्म मूल्य थियो । अब आरडी-६ पीकअपको उत्पादन हुने छैन ।

नयाँ किङ कङ पीकअपको मूल्य भेरियन्ट अनुसार १३ हजार ७०० देखि २१ हजार ९०० डलरसम्म तोकिएको छ । महंगो मोडल फोर ह्वील ड्राइभमा उपलब्ध हुनेछ । नेपाली बजारमा किङ कङ पीकअप कुन भेरियन्ट र कति मूल्यमा ल्याउँछ भन्ने थाहापाउन केही महिना कुर्नु पर्ने हुन्छ ।

जिलीले रेडारा किङ कङ पीकअपलाई विभिन्न चार ब्याट्री अप्सनमा ल्याएको छ । जसमा ४२, ५५, ७३ र ८६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यसअघि नेपाल आएको रेडारा पीकअपमा ६३ किलोवाट आवर क्षमताको ब्याट्री थियो । अब ल्याउने पीकअप कुन ब्याट्री साइजमा आउँछ एकिन साथ भन्न सक्ने अवस्था छैन ।

रेडारा किङ कङमा ब्याट्री अप्सन धेरै भएसँगै रियर ह्वील ड्राइभ भेरियन्टमा १८० किलोवाटको मोटर दिइएको छ । अहिले बजारमा उपलब्ध आरडी-६ मोडलमा २०० किलोवाटको मोटर थियो । किङ कङ मोडलको फोर ह्वील ड्राइभ भेरियन्टमा २८० किलोवाट क्षमताको मोटर रहनेछ । नयाँ पीकअपले ब्याट्री साइज अनुसार ३१० देखि ६०५ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।


Back_to_top