एक हप्ता भित्रै लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्रको प्रयोग

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्वबप्रसाद रिजालले एक हप्ता भित्रै लाइसन्सको सट्टा राष्ट्रिय परिचयपत्र देखाएपनि हुने बताएका छन् ।

महानिर्देशक रिजालले मेरोअटोसँग कुरा गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग इन्डिकेशनको लागि काम अगाडि बढेको बताए ।

‘इन्डिकेशन भनेको दुई विभागको डाटा एकै कार्डमा राख्ने प्रक्रिया हो । यसको लागि हामी आज पनि छलफलमै बसिरहेका छौं । प्राविधिकहरुले काम सकाए दुई तीन दिनमा हुने छ’, महानिर्देशक रिजालले भने, ‘दुई तीन दिनमा काम नसकिए पनि एक हप्ता भित्र सबै काम सकिने छ । त्यसपछि लाइसन्सको सट्टा परिचयपत्र देखाएपनि हुनेछ ।’

ट्राफिक प्रहरीलाई लाइसन्सको सट्टा राष्ट्रिय परिचयपत्रमा रहेको क्यूआर कोर्ड स्क्यान गर्ने मिसिन ल्याउने बताए । राष्ट्रिय परिचयपत्रमा लाइसन्स नम्बर भएपनि लाइसेन्स छपाई प्रक्रिया पनि नरोकिने महानिर्देशकले बताए ।

गत ३१ बैशाखमा बसेको दुई निकायका महानिर्देशक नेतृत्वको छलफलले सेवा अन्तर–आबद्धतासम्बन्धि समझदारी गरेका थिए । त्यहि जसअनुसार सवारी चालक परिचयपत्रको काम समेत राष्ट्रिय परिचयपत्रले गर्ने भनिएको थियो ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार महालेखाले विवरण लिँदा छपाई रोकिएको थियो । अहिले दैनिक ४ देखि ५ हजारसम्म लाइसेन्स छापाई भइरहेको छ ।

जेठ १३ गते सार्वजनिक गरेको महालेखाको ६१ औं प्रतिवेदनमा २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारी चालकहरूको अनुमतिपत्र छपाइ नभएको उल्लेख गरेको थियो ।

हाल यातायात व्यवस्था विभागले करिब १६ लाख सर्वसाधरणको लाइसेन्स छाप्न बाँकी छ । अर्कोतर्फ, करिब २७ लाख परिचयपत्र छापिएर पनि सर्वसारधण लिन नजाँदा सरकारी कार्यालयमै थन्किएका छन् ।


Back_to_top