आर्थिक मन्दीको प्रभाव रिकन्डिसन बजारमा, ५ लाखमै पाइन्छ कार

काठमाडौं । विगत ७ महिनादेखि चलिरहेको आर्थिक मन्दीको प्रभाव रिकन्डिसन कारको बजारमा पनि परेको छ । बजारमा गाडीको माग निकै कम हुनु र गाडी किन्ने मानिसले पनि बैंकबाट कर्जा सुविधा नपाउँदा रिकन्डिसन बजार पनि निकै सुस्त भएको हो ।

पुसदेखि बजारमा निरन्तर तरलता अभाव हुनु, नयाँ गाडीसँगै पुराना गाडी किन्ने मानिस बढ्न नसक्नु र पुराना गाडीले कर्जा सुविधा पाउनै नसक्ने अवस्था आउनुले रिकन्डिसन बजार पनि थला परेको हो । अहिले बजारमा ५ लाखदेखि ४० लाखसम्म मूल्य पर्ने गाडी ठूलो परिमाणमा पाउन सकिन्छ ।

‘हामीसँग अहिले पुराना गाडी विक्री गरिदिनु पर्यो भन्दै ग्राहक थुप्रै छन् । पहिला ९/१० लाख पर्ने गाडी अहिले ५/७ लाखमै पाउने अवस्था छ । कोभिडको पहिलो लहर सकिएपछि गाडी पाउनै मुस्कील थियो । अहिले गाडी राख्नै कठिन छ’, श्रेया अटोमोवाइल्सका संचालक सचिन कुईंकेलले मेरोअटोसँग भने ।

काठमाडौं अटोमोवाइल्सका संचालक शैलेन्द्र श्रेष्ठ पनि अहिले बजार सुस्त हुनुमा कर्जा सुविधा ठप्प हुनु मुख्य कारण रहेको मान्छन् । उनि भन्छन्, ‘गाडी किन्ने मानिस छन् । तर, महंगो व्याजदर र कर्जा सुविधा नै नपाउने अवस्थाको कारण रिकन्डिसनमा पनि गाडीको विक्री घटेको हो ।’

एक वर्षअघि ५ देखि १५ लाख रुपैयाँको कार खोज्ने मानिस निकै बढेका थिए । अहिले समय फेरिएको छ । अहिले बजारमा ५ लाखदेखि १२ लाखसम्म खर्च गर्नेले राम्रा गाडी पाउने अवस्था छ । तर, गाडीको विक्री भने १५ लाखदेखि ३० लाख मूल्यको धेरै विक्री हुने गरेको व्यवसायीहरु बताउँछन् ।

‘सस्तो मूल्यमा कार खोज्नेले गाडीमा पेट्रोल राखेर त्यसको मेन्टिनेन्ससँगै आउने थप खर्चको भार थेग्न सक्ने अवस्था छैन । त्यसैले साना गाडी किन्नेभन्दा राम्रा गाडी सेकेन्ड ह्याण्ड बजारमा खोज्ने बढेका छन्’, एक विक्रेताले भने ।

बढ्दो पेट्रोलियम पदार्थको मूल्य, महंगो सर्भिस, पार्टसको मूल्यमा भएको वृद्धि जस्ता कारण कम मूल्यका गाडी किन्ने मानिसले धेरै पटक सोच्ने गरेको पाइन्छ । कम मूल्यको गाडी किनेर समस्यामा पर्नुको साटो मोटरसाइकलबाटै आफ्नो दैनिकी चलाउने पनि धेरै छन् ।


Back_to_top