नेपाल आउने प्रतिक्षामा १० नयाँ कार, यस्तो छ ब्राण्ड अनुसारका मोडल

काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाएसँगै विभिन्न कम्पनीका १० भन्दा धेरै मोडल नेपाल ल्याउने प्रक्रिया रोकिएको थियो । आगामी भदौ १४ गतेसम्म लम्बाईएको आयात प्रतिवन्ध अझै कहिले खुल्छ टुङ्गो लागेको छैन ।

चैत २१ गतेबाटै बैंकहरुलाई नेपाल राष्ट्र बैंकले मौखिक निर्देशन दिएर आयात रोक्न भनेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले चैत २२ गतेबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात खोलेका छैनन् ।

यसरी ५ महिना हाराहारी गाडीको आयातमा प्रतिबन्ध लाग्दा नेपालमा विक्री सुरु गर्ने तयारी भइसकेका र नयाँ आएका मोडल आउन पाएका छैनन् । यदि सरकारले आयात प्रतिबन्ध हटाउने हो भने तत्कालै १० नयाँ मोडल नेपाली बजार ल्याउने छन् ।

१. टाटा पन्चः टाटा पन्च यसअघि नै नेपालमा विक्री सुरु गर्ने योजना सिप्रदी ट्रेडिङले बनाएको थियो । १.२ लिटर इन्जिनमा आउने यो माइक्रो एसयूभी भारतमा निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ । साना कार खोज्नेलाई ह्याचव्याकको विकल्पमा पन्च विक्री हुनेछ ।

सरकारले आयात प्रतिबन्ध हटाएसँगै पन्च नेपाल आउने छ । यसले बजारमा नयाँ सेग्मेन्टको सुरुवात गराउने विश्वास गरिएको छ । २७ देखि ४२ लाख भित्रै मूल्य रहनेगरी पन्चका विभिन्न भेरियन्ट उपलब्ध रहने छन् ।

२. मारुती सुजुकी बलेनोः मारुती सुजुकीले ल्याएको नयाँ जेनेरेशन बलेनो नेपाल आउने तयारी यसअघि नै भइसकेको थियो । बलेनोमा पनि १.२ लिटर क्षमताको इन्जिन रहेको छ ।

माइल्ड हाइब्रिड टेक्नोलोजीको साथ आएको नयाँ बलेनो फिचर लोडेड प्रिमियम ह्याचव्याक कार हो । यसको सुरुवाती मूल्य ४० लाख हाराहारी रहने अनुमान गर्न सकिन्छ ।

३. एमजी एस्टरः कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एमजीले भारतमा उत्पादन गरेको एस्टर दुई इन्जिन अप्सनमा आउने छ । १.५ लिटर नेचुरल्ली एस्पीरेडेड र १.४ लिटर टर्बो इन्जिन यसमा रहने छ ।

हुन्डाई क्रेटा, किया सेल्टोस जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने यो मोडलको मूल्य पनि ५० लाखदेखि ७० लाखसम्म रहने अनुमान गर्न सकिन्छ ।

४. हुन्डाई भेन्यूः हुन्डाईले भेन्यूको फेसलिफ्ट मोडल नेपाल ल्याउने तयारी थाल्न पाएको छैन । नेपालमा आयात प्रतिबन्धकै बीचमा भारतमा भेन्यू फेसलिफ्ट सार्वजनिक भएको थियो ।

भेन्यू फेसलिफ्टमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो इन्जिन उपलब्ध छ । यसको मूल्य अहिलेको तुलनामा खासै धेरै फरक हुने छैन । नेपालमा ३९ लाख सुरुवाती मूल्यमा भेन्यू सार्वजनिक हुन सक्ने छ ।

५. महिन्द्रा एक्सयूभी ७००ः महिन्द्राको हटकेक मोडल एक्सयूभी ७०० नेपाल ल्याउने तयारी अग्नी इन्कर्पोरेटले यसअघि नै गरेको थियो । यो एसयूभीमा २.२ लिटर डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन पाउन सकिन्छ ।

अग्नीले यसको सुरुवाती मूल्य ६५ लाखदेखि १ करोड २० लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ । साथै, अग्नीले नयाँ स्कर्पियो एन पनि चाँडै नेपाल ल्याउने छ ।

६. मारुती सुजुकी ब्रेजाः फिचर लोडेड ब्रेजा सिजी मोटोकर्पले चाँडै नेपाल ल्याउने थियो । नेपालको सर्वाधिक सफल सब फोर मिटर मोडल ब्रेजामा १.५ लिटर क्षमताको इन्जिन रहेको छ ।

पहिलो पटक सनरुफ लगायका प्रिमियम फिचरमा आएको ब्रेजाको सुरुवाती मूल्य ४८ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

७. महिन्द्रा बलेरो नियोः महिन्द्राले बलेरो नियो पनि नेपालमा विक्री सुरु गर्न खोजिरहेको नयाँ मोडल हो । यसमा १.५ लिटर क्षमताको डिजेल इन्जिन रहेको छ । यसको सुरुवाती मूल्य ३५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

८. स्कोडा स्लाभियाः स्कोडाले र्यापीडको स्थानमा ल्याएको नयाँ सेडान स्लाभिया पनि नेपाल ल्याउने तयारी चलिरहेको मोडल हो । कम्पनीले यसमा पनि र्यापीडको जस्तै १.० लिटर टिएसआई इन्जिन दिएको छ । यसको सुरुवाती मूल्य ४५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

९. जीप मेरिडियनः जीपको ७ सिट क्षमताको एसयूभी मेरिडीयन पनि नेपाल ल्याउने तयारी भइरहेको मोडल हो । यसमा डिजेल इन्जिन उपलब्ध रहेको छ । कम्पनीले यसमा २.२ लिटर क्षमताको इन्जिन दिएको छ । यसको मूल्य १ करोड माथि पर्नेछ ।

१०. सिट्रोन सीथ्रीः फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले पहिलो पटक भारतमा उत्पादन गरेको सब फोर मिटर सेग्मेन्टमा आउने यो कार कम मूल्यको कारण चर्चामा छ ।

कम्पनीले यसमा १.२ लिटर क्षमताको नेचुरल्ली एस्पीरेडेड र टर्बो इन्जिन अप्सन दिएको छ । यसको सुरुवाती मूल्य २७ लाख हाराहारी हुने अनुमान गरिएको छ ।


Back_to_top