काठमाडौं । नेपालमा मोटरसाइकलको भन्दा धेरै स्कुटर बिक्री भएको तथ्यांकहरुले देखाएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा १ लाख ४ हजार २४८ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन् ।
यसरी आयात भएको दुई पाङ्ग्रे सवारीसाधनमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको संख्या ६ हजार ९८६ यूनिट रहेको छ । त्यस्तै इन्टरनल कम्बस्चन इन्जिन भएका दुई पाङ्ग्रे साधनको संख्या ९७ हजार २६२ यूनिट मात्रै रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले आयात घटेको हो ।
यसरी आयात भएका दुई पाङ्ग्रे सवारीसाधनमा सबैभन्दा ठूलो हिस्सा ९७ सीसीदेखि १२५ सीसीसम्म क्षमताका इन्जिन भएका साधनको छ । यो सेग्मेन्टमा ६३ हजार ६८० यूनिट आयात भएको देखिन्छ । त्यसमा ईभीको संख्या जोड्दा ७० हजार ६६६ यूनिट १२५ सीसीभन्दा कम क्षमताका साधन आयात भएको छ । यसमा सबैभन्दा धेरै हिस्सा स्कुटरको छ ।
कुल दुई पाङ्ग्रेको आयातमा १२५ सीसी माथिका मोटरसाइकल तथा स्कुटरको आयात ३३ हजार ५८२ यूनिट मात्रै छ । जुन संख्या अघिल्लो वर्ष बजाज एक्लैले बेचेको मोटरसाइकलको संख्याभन्दा कम हो ।
विद्युतीय साधनमा पनि ९८ प्रतिशत हाराहारी स्कुटर आयात भएको र सानो इन्जिन भएका दुई पाङ्ग्रेमा पनि अधिकांश स्कुटर भएको कारण कुल आयातमा स्कुटरको संख्या मोटरसाइकलभन्दा बढी भएको दुई पाङ्ग्रे साधनको बिक्रेताहरु बताउँछन् ।
‘नेपालको दुई पाङ्ग्रे साधनको बजार स्कुटरले मोटरसाइकललाई उछिनेको छ । विशेषगरी यूनिसेक्स स्कुटर आउनु, परिवारमा साझा साधनको रुपमा प्रयोग गर्न मिल्नु र चलाउन पनि सहज भएको कारण स्कुटरको बजार हिस्सा बढेको हो’, यामाहा नेपालका सीईओ राजु क्षेत्रीले भने ।
क्षेत्रीका अनुसार धेरै युवा बैदेशिक रोजगारीमा गएको र उनिहरुको परिवारको रोजाईमा स्कुटर परेकै कारण स्कुटरको बिक्री तिब्र गतिमा बिस्तार भएको हो ।
होन्डाको आयात तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । होन्डाको कुल दुई पाङग्रे सवारीसाधनको बिक्रीमा स्कुटरको हिस्सा लगभग ७० प्रतिशत पुगेको छ ।
अहिले बजारमा स्कुटरमा धेरै छनोट पाउन सकिन्छ । होन्डाले डिओ, एभीएटर, एक्टीभा र ग्राजिया स्कुटर बिक्री गर्दै आएको छ । होन्डापछि टीभीएसले धेरै स्कुटर बिक्री गर्छ । टीभीएससँग एनटर्क, जुपिटर र बीगो स्कुटर छ ।
त्यसैगरी सुजुकीसँग एसेस, बर्गम्यान स्ट्रीट र एभिनिस स्कुटर छ भने हिरोसँग प्लेजर, डेस्टीनी लगायतका मोडल छन् । साथै, यामाहाले रेजेडआर १२५, फसिनो १२५ र एनम्याक्स १५५ स्कुटर बिक्री गर्दै आएको छ ।
यस बाहेक अप्रिलिया, भेष्पा, बेनेली लगायतका ब्राण्डले पेट्रोलियम पदार्थबाट चल्ने स्कुटर बिक्री गर्दै आएको छ । विद्युतीय स्कुटरमा सेगवे, एनआईयू, टेल्जी, ब्राभो, याडिया जस्ता ब्राण्डले स्कुटर बिक्री गर्दै आएका छन् ।


