काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीले हाइब्रिड कारमा एकपछि अर्को सफलता पाउँदै गएको छ । कम्पनीले पछिल्ला दिनमा हाइब्रिड कारमा निकै ठूला सफलता हात पारेको हो ।
सिल-०७ डिएम-आई हाइब्रिड मोडल सार्वजनिक गरेर कम्पनीले नयाँ रेकर्ड बनाएको हो । कम्पनीले पाँचौ जेनेरेशन डिएमआई टेक्नोलोजी प्रयोग गरेर प्लगइन हाइब्रिड सिल ल्याएको हो ।
कम्पनीले ल्याएको सिल-०७ डिएम-आई दुई भेरियन्टमा उपलब्ध गराएको छ । इन्ट्री भेरियन्टमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ७४ किलोवाट पावर प्रदान गर्छ । यसमा रहेको इलेक्ट्रीक मोटरले भने १६० किलोवाट पावर दिन्छ ।
यसको ठूलो भर्सनमा भने १.५ लिटर टर्बो चार्ज्ड इन्जिन दिइएको छ । यसको अधिकतम पावर ११५ किलोवाट छ भने यसमा २०० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ ।
यसलाई इलेक्ट्री मोडमा मात्रै चलाउँदा ७० देखि १२५ किमि रेन्ज पाउन सकिन्छ । तर, फुल ट्याङ्की पेट्रोल र फुल चार्ज ब्याट्रीको संयुक्त रेन्ज २ हजार किलोमिटर रहेको कम्पनीको दावी छ ।
कम्पनीको दावी अनुसार पाँचौ जेनेरेशन डीएम-आई टेक्नोलोजीले ३.४ लिटर पेट्रोलबाट १०० किलोमिटर यात्रा गर्न सकिने छ ।


