यस्ता छन् ४ देखि १२ लाखसम्म डाउन पेमेन्टमा किन्न सकिने कार

काठमाडौं । नेपालमा कारको मूल्य कम छैन । यद्यपी थोरै रकममा कार चढ्नु पर्ने ग्राहकलाई ध्यानमा राखी विभिन्न कम्पनीले २५ लाखभन्दा कम मूल्यमा केही मोडल उपलब्ध गराउँदै आएका छन् ।

विशेषगरि मारुती सुजुकी अल्टो र एसप्रेसो, हुन्डाई सेन्ट्रो, डाट्सन रेडी गो, रेनो क्वीड जस्ता मोडल नेपालमा कम मूल्यमा किन्न पाइने इन्ट्री लेवल कार हुन् । यसका अलावा इलेक्ट्रीक कार दिगो इ८ र डेरी इभी७ र इएम७ पनि कम रकम खर्च गरेर किन्न सकिने कार हुन् ।

अहिले कोभिड १९ को संक्रमणको कारण कारका शोरुमहरु बन्द अवस्थामा रहेका छन् । तर, विस्तारै निषेधाज्ञा खुकुले हुँदै जाने कुरा स्थानीय प्रशासनले बताउँदै आएको अवस्थामा आफुसँग रहेको थोरै रकम खर्च गरेर सानो पारिवारीक कार किन्न चाहने ग्राहकलाई यी साना ह्याचव्याक कार सहि छनोट बन्न सक्ने देखिन्छ ।

नेपाल बजारमा विक्री हुने कम मूल्यको कार डेरी इभी७ र इएम७ हुन् । यी दुबै कारको मूल्य क्रमशः १९ लाख ५० हजार र १९ लाख ७५ हजार तोकिएको छ ।

अटोहोस्ट प्रालिले विक्री गर्ने यी दुबै कार विद्युतीय मोटर जडान भएका गाडी हुन् । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा व्यापक परिमार्जन गरेसँगै यी कारको मूल्य घटेको हो । यसअघि २५ लाख हाराहारी मूल्य रहेको यी दुबै कार २३० किलोमिटरभन्दा बढी रेञ्ज प्रदान गर्न सक्ने कार हुन् ।

यी गाडी किन्ने ग्राहकले ४ लाख रुपैयाँ डाउन पेमेन्ट वापत बुझाएर बाँकी रकम कर्जामा लिएर गाडी खरिद गर्न सक्ने छन् ।

त्यसैगरि मारुती सुजुकी अल्टो र एसप्रेसो पनि इन्ट्री लेवल कारको रुपमा बजारमा उपलब्ध रहेका छन् । पेट्रोल इन्जिन भएको यी दुबै कारको सुरुवाती मूल्य क्रमशः १९ लाख ९ हजार र २३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

सिजी मोटोकर्पले विक्री गर्दै आएको पेट्रोल इन्जिनमा उपलब्ध यी दुबै कार बजार उपलब्ध सबैभन्दा कम मूल्यका कार हुन् । पेट्रोल कार किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने ५० प्रतिशत रकम बैंकबाट कर्जा लिएर खरिद गर्न सक्ने छन् । अल्टोमा ७९७ सीसी क्षमताको इन्जिन दिइएको छ भने एसप्रेसोमा ९९९ सीसी क्षमताको इन्जिन पाउन सकिन्छ ।

दिगो ग्रुपले नेपालमा विक्री गर्दै आएको इ८ इलेक्ट्रीक कार मूल्यको हिसावले अर्को उत्कृष्ट कार हो । यसको मूल्य २१ लाख ४९ हजार ५०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । इलेक्ट्रीक कार भएको कारण यसलाई ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जामा दिएर खरिद गर्न सक्ने छन् । इ८ कारले एक पटकको फुल चार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको हुन्डाई सेन्ट्रो कम मूल्यमा किन्न सकिने अर्को पारिवारीक कार हो । हुन्डाई सेन्ट्रो नेपालमा निकै चर्चित मोडल पनि हो ।

कम्पनीले यसमा १०८६ सीसी क्षमताको फोर सिलिण्डर इन्जिन दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले यसलाई सुरुवाती मूल्य २४ लाख ५६ हजार तोकेर विक्री वितरण गर्दै आएको छ । यो गाडी किन्न चाहने ग्राहकले पनि ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

डाट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले विक्री वितरण गर्दै आएको रेडी गो सस्तो मध्येको एक मोडल हो । यसको सुरुवाती मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । ९९९ सीसी क्षमताको रेडी गो कम मूल्यमा ह्याचव्याक कार खोज्नेलाई उपयुक्त कारमा पर्दै आएको छ । यसलाई खरिद गर्न चाहने ग्राहकले सुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

रेनो क्वीड पछिल्लो दिनमा सर्वाधिक विक्री हुने इन्ट्री लेवल कार हो । क्वीड फेसलिफ्टको विक्री सुरु भएसँगै यसको विक्री निकै राम्रो संख्उामा भइरहेको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले जनाएको छ । कम्पनीले यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ । पेट्रोलबाट चल्ने भएको कारण यसलाई किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।


Back_to_top