यात्रीको उपत्यका बाहिर कार्यक्रम सुरु, यस्ता छन् तीन लक्ष्य

काठमाडौं । नेपाली इलेक्ट्रीक मोटरसाइकल ब्राण्ड यात्रीले आज बैशाख १७ गतेबाट देशका विभिन्न सहरमा पुगेर कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले मुख्यतया तीन लक्ष्य लिएर कार्यक्रम आयोजना गरेको जानकारी दिएको हो ।

यात्री इनर्जी र यात्री मोटरसाइकलले आयोजना गरेको उक्त कार्यक्रम यात्रीको इको सिस्टम निर्माण, चार्जिङ स्टेशनको लागि उपयुक्त स्थान छनोट र यात्री पी–१ मोटरसाइकल टेष्ट राइड गराउने रहेको छ ।

कम्पनीले आज बिहान चितवनको होटल गुलमोहर भरतपुरमा कार्यक्रम गर्दैछ । कम्पनी त्यहाँ यात्री मोटरसाइकलको टेष्ट ड्राइभ पनि गर्नेछ ।

त्यस्तै बुधबार १९ गते हेटौडाको होटल प्रकाशमा कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी शुक्रबार बिराटनगरको एशियाटिक होटलमा र अन्तिम कार्यक्रम बैशाख २३ गते आइतबार इटहरीको रोयल रिसोर्टमा आयोजना हुनेछ ।

यूएसएड ऊर्जा नेपाल प्रोग्रामको सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक भने यात्री इनर्जी हो । यात्री मोटरसाइकल कम्पनीको एक अंगको रुपमा यात्री इनर्जी सक्रिय रहेको छ ।


Back_to_top